
उत्तम कार्की/काठमाडौँ– शिक्षालाई बालिकाहरुको पहुँचबाट टाढा जान नदिने मुख्य उद्देश्यले सञ्चालित ʻशिक्षामा बालिकाहरुको निरन्तरता सुनिश्चितʼ परियोजना सम्पन्न भएको छ ।
युनेस्कोले कोभिड–१९ को महामारीका समय बालिकाहरुको शिक्षामा रोक नआओस भन्ने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको थियो । अभियानमा नेपालका सबै कलाकारलाई समेत सक्रिय बनाइएको थियो । तीन महिने यो अभियान युनेस्को अन्र्तगतको युएनएफपीए, युएन वुमन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जापानी संस्था कोइकाको संयुक्त आयोजना तथा कार्यान्वयन मित्र समाजले गरेको थियो ।
‘मिडिया एंगेजमेन्ट एक्टिभिटिज टु एड्भोकेट फर गल्र्स एजुकेशन एण्ड सपोर्ट अराउण्ड द इन्टरनेशनल डे अफ द गल्र्स चाएल्ड २०२१’ नारासहितको सो अभियानले कोभिड–१९ र त्यसभन्दा बाहिर राष्ट्रिय स्तरमा बालिका शिक्षासम्बन्धी मुद्दा उठाएर आइडीजीसी २०२१ को स्मरण गराएको थियो ।

यसका लागि ‘अन्तर्राष्ट्रिय बालिका दिवस (आइडीजीसी) २०२१’ को लागि विशेष कुराकानी समेटिएको कार्यक्रम इमेज च्यानलमा बेलुका ८ बजे प्रसारण गरिएको थियो । अक्टोबर ११ मा गरिएको टेलिभिजन प्यानल छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्साल, शिक्षाकर्मी डा. जानुका नेपाल पौडेल र डा. बलराम तिमिल्सिनाले ‘बालिका शिक्षा र कोभिड–१९ महामारीका चुनौती’माथि प्रकाश पारेका थिए । सो क्रममा बालिकाको शिक्षामा निन्तरताका लागि गर्नुपर्ने थप कामका विषयमासमेत छलफल भएको थियो । यस छलफलको सहजकर्ताकारुपमा पूर्व मिस नेपाल मालभिका सुब्बाले भुमिका निर्वाह गरेकी थिइन् ।
प्यानल छलफलसँगै साँझ ७ बजे नेपाल टेलिभिजनबाट ‘नलेखिएका भाग्यहरु’ नामक २५ मिनेटको भिडियो ‘अलिखित नियति’को रूपमा प्रसारण गरिएको थियो । अक्टोबर ११ मा मित्र समाज र युनेस्कोको सामाजिक सञ्जालहरुमा वेबकास्टसमेत गरिएको छ । भिडियो युनेस्कोद्वारा निर्मित रेडियो नाटक ‘लेट मी रीड, लेट मी ग्रो’ बाट लिइएको थियो । यो त्यस्ता दृश्य अनुकूलनका चार संस्करणहरू मध्ये एक थियो । यी कार्यक्रमलाई प्रवर्द्धन गर्न टिजरहरू, सम्बन्धित टिभी च्यानलहरू र डिजिटल मिडिया प्लेटफर्महरू जस्तै फेसबुक, इन्स्टाग्राम र युट्युबहरू मार्फत प्रसारण गरिएको थियो भने इ–कान्तिपुर र अनलाइनखबरमा क्रमशः इन्टरस्टिसियल र विज्ञापन राखिएको थियो ।
आएडीजीसीको सम्झनाको तयारी भदौ १ गतेबाट सुरु भएको थियो भने अक्टोबर ३१ सम्म चलेको थियो । बालिका शिक्षाका बारेमा व्यापक चेतना जगाउने उद्देश्यले डोटेली, मैथली र भोजपुरी भाषाहरूमा जनहितमा जारी सन्देश उत्पादन गरी नियमित रूपमा प्रसारण गरिएको थियो । रौतहट, सर्लाही, सुनसरी, अछाम र बाजुरामा प्रत्येक कार्यक्रमका दुईवटा रेडियो स्टेशनहरूसहित १० वटा रेडियो स्टेशनहरूबाट ४५ दिनसम्म यस्तो सन्देशहरु प्रवाह गरिएको थियो । त्यसैगरी, नेपाल टेलिभिजनबाट अक्टोबर १ देखि १८ दिनसम्म दिनमा १४ पटक बज्नेगरी एक मिनेटको भिडियो सार्वजनिक सन्देश उत्पादन र प्रसारण गरिएको थियो ।
यस अभियानमा नेपालका चर्चित सेलिब्रेटीहरु पनि सहभागी भएका थिए । सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री स्वस्तिमा खड्का र गायक प्रकाश सपुतले आफ्नो सामाजिक सञ्जालबाटसमेत निरन्तररुपमा प्रभावकारी तवरबाट बालिकाको शिक्षाकालागि वकालत गरिरहेका थिए । कोभिड–१९ को प्रभावमा बालिकाको शिक्षा पर्न नदिन उनीहरुको वकालत अत्यन्त राम्रो रहेको थियो । सायदै पहिलो पटक खड्का र सपुतले बालिका शिक्षामा लेख लेखेर नेपालका राष्ट्रिय दैनिक पत्रिकाहरु नेपाल समाचारपत्र र कान्तिपुर दैनिकजस्ता राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित गरेका थिए । नेपालको राम्रो चलेको एक मासिक पत्रिकाको पूर्वसम्पादक भइसकेका सुब्बाले पनि एउटा लेख लेखेर नेपालको चर्चित सञ्चारमाध्यम अनलाइन खबर डट.कममा प्रकाशित गरेकी छन् ।

युनेस्को नेपालका सञ्चार अधिकृत रमश अधिकारीले नेपालमा कोभिड–१९ महामारीले शिक्षामा गहिरो असर पर्ने जोखिम उच्च रहेको अवस्थामा धेरै बालिकाहरूले विद्यालय छोड्ने सम्भावना बढेको बेला यो परियोजनाको कार्यान्वयनमा आउँदा बालिकाको शिक्षालगायत सामाजिक क्षेत्रमासमेत सुधार आएको बताए । परियोजना लागु गरिएको जिल्ला रौतहटका बालिकाले प्रतिक्रिया दिएको ʻशिक्षामा बालिकाहरुको निरन्तरता सुनिश्चितʼ परियोजनाका रौतहट जिल्ला क्षेत्रीय संयोजक दीपेन्द्र ठाकुर बताउछन् । रौतहटमा अहिले सामुदायिक शिक्षा केन्द्र सञ्चालन हुनाका साथै बालविवाह न्युनीकरणमा सहयोग, समाजिक क्षेत्रका अन्य समस्या माथिको छलफल र निकास निकाल्नमासमेत सहयोग पुगेको उनको भनाइ छ । विशेषत बालिकाका लागि बालिकामैत्री शौचालयका विषयमा त्यहाँका विद्यालय जिम्मेवार भएर काम गरिरहेका छन् ।
यसैगरी, यो परियोजना सञ्चालन भएको जिल्ला अछाम र बाजुरामासमेत प्रभाव राम्रो रहेको यस परियोजनाका अछाम र बाजुरा हेर्ने क्षेत्रिय संयोजक देवेशराज गिरी बताउँछन् । विशेषत बालविवाह न्युनीकरण र अछामलाई साक्षरता घोषणा गर्न यस परियोजनाले महत्वपुर्ण भूमिका खेलेको उनको भनाइ छ । शिक्षाका साथ–साथै आर्थिक पक्षमासमेत ज्ञान दिइएकाले आयमुलक क्षेत्रमा बालिकाको ध्यान पुगिरहेको उनको भनाइ छ ।
यसैगरी, परियोजना सञ्चालित जिल्ला सर्लाही र सुनसरीमा पनि बालिकाको शिक्षा क्षेत्रमा विशेष सहयोग पुगेको त्यहाँका स्थानिय तहहरुलेसमेत बताएका छन् । यसरी कोरोनाको विषम परिस्थितिमा पनि बालिकाको शिक्षामा रोकावट आउन नदिन परियोजनाले महत्वपुर्ण भूमिका खेल्दै समाज रुपान्तरणमा बालिकाको सहभागितालाई सुनिश्चित गर्ने पुलको काम गरिदिएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने प्रतिबद्धता युनेस्को र यससँग सम्बन्धित सबै संघ–संस्थाले जनाएका छन् ।