चाडपर्वका समयमा नक्कली नोट कारोबारी सक्रिय बन्छन्। यस्तो कार्यमा नेपाली र विदेशी नागरिकको नै सक्रियता नेपालमा भेटिएको छ। नेपालमा नक्कली नोटका विषयमा ज्ञान कमी भएकै कारण यस्तो कार्य फैलँदै गएको अनुसन्धान अधिकारी बताउँछन्। चाडपर्वको समयमा नक्कली नोटको कारोबार बढ्नुको मुख्य कारण भनेकै भीडभाडमा व्यापार हुनु हो। भीड भएको समयमा नोटलाई राम्ररी नहेर्ने भएकाले यस्तो क्रियाकलापमा संलग्नले यसै समयलाई उपयोग गरेको पाइन्छ। धेरै रकम कारोबार गर्दा बीचमा नक्कली नोट राखेर पनि झुक्याएका कयौं घटना छन्। यस्तो घटनामा संलग्नलाई बेला मौका प्रहरीले नियन्त्रणमा लिए पनि नक्कली नोटको कारोबार मुलुकमा घटेको छैन।
नेपालमा नेपाली मात्रै नभई विदेशी मुद्राको पनि नक्कली नोट भेटिन्छ। प्रहरीले हालसम्म नेपाली, भारतीय र अमेरिकी डलरसमेतको नक्कली नोट फेला पारेको छ। अन्य देशको तुलनामा नेपालमा यसरी विदेशी मुद्राको पनि नक्कली बनाएर बढी कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा नै १३ करोडभन्दा बढी नक्कली रकम फेला परेको छ। यस्तो कारोबारमा संलग्न २ सय १६ जना पक्राउ परेका छन्। बर्सेनि प्रहरीको विभिन्न अनुसन्धान टोलीले नक्कली नोट बनाउने मेसिन र व्यक्ति पक्राउ गर्छ। चाडपर्वको समयमा यसरी पक्राउ पर्ने क्रम बढे पनि अन्य समय पक्राउ हुने क्रम सुनसान जस्तै हुन्छ। नेट बैंक तथा वित्तीय संस्थामा पुगेपछि मात्रै नक्कली नोटको कारोबार भएको अन्य समयमा थाहा हुन्छ। यसले जुनसुकै समयमा पनि नक्कली नोटको कारोबार नेपालमा भइरहेको कुरालाई पुष्टि गर्छ।
नेपालमा एक हजार, पाँच सय र एक सय रुपैयाँ दरका नक्कली नोटहरू बजारमा भेटिन्छन्। नोटको बिटोमा पाँच सय र हजारका बढी राखिने भएकाले नक्कली नोट पनि हजार र पाँच सयका बढी भेटिएका हुन्। प्रहरी र नेपाल राष्ट्र बैंकले बेलाबेला नक्कली नोटको विषयमा सर्वसाधारणलाई जानकारी गराउने भए पनि नागरिकमा यो विषयमा कम चेतना भएकाले कारोबारीले सहजै ठग्ने गरेको पाइन्छ। यस्ता रकम बजार र विभिन्न बैंक हुँदै नेपाल राष्ट्र बैंकसम्म पुग्ने गरेका घटना पनि छन्। सर्वसाधारणमा नोट चेतनाको कमी र अनलाइन कारोबारको कमीकै कारण नेपालमा नक्कली नोटको कारोबार बढेको हो।
विश्वका विकसित मुलुकमा ‘इलेक्ट्रिोनिक मनी’को कारोबारलाई प्राथमिकता दिइन्छ। अनलाइन र कार्डको माध्यमबाट भुक्तानी लिने दिने गर्नाले ठगिने सम्भावना हुँदैन। नक्कली नोटकै कारण मुलुकलाई आर्थिक क्षति पर्ने हुँदा विकसित मुलुकले अनलाइन कारोबारलाई प्राथमिकतामा राखेका हुन् र नोटलाई क्रमशः विस्थापित गर्दै लगेका छन्। यसले नोटमा ठगिने मात्रै नभई चोरी र लुटपाटका घटनामा पनि कमी आउँछ।
त्यसैले नेपालमा पनि अनलाइन र कार्डको माध्यमबाट हुने कारोबारलाई बढाउन सके नक्कली नोटको कारोबार घट्छ र मुलुकमा मुद्रामा हुने क्षतिलाई रोक्न सकिन्छ।
नक्कली नोटको कारोबारलाई रोक्न नेपाल राष्ट्र बैंकले जाली नोट तथा खोटो सिक्कासम्बन्धी विनियमावली २०७७ समेत ल्याएको छ। यस विनियमावलीमा जाली नोट छुट्ट्याउन नागरिकमा चेतना विकास गर्नेदेखि कारोबार गर्नेलाई कारबाहीको दायरामा ल्याउनेसम्म उल्लेख छ। जाली नोट छुट्ट्याउने अधिकार पनि नेपाल राष्ट्र बैंकलाई नै दिइएकाले सबैभन्दा बढी जिम्मेवार बैंक बन्नुपर्छ। नागरिकमा नोट पहिचान गर्न सक्ने बनाउन विभिन्न चेतनामूलक सामग्री बनाउने र प्रचार गर्नमा बैंकको सक्रियता आवश्यक छ। नागरिकले पनि नोटको कारोबारभन्दा पनि अनलाइन कारोबारलाई प्राथमिकता दिने नोटको पहिचान गरेर मात्रै लिने गरेमा ठगिनबाट जोगिन सकिन्छ।
नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ भने सक्कलीको खस्रो र कडा हुन्छ। नक्कली र सक्कली नोट चिन्ने अर्को माध्यम हो, सुरक्षण धागो (सेक्युरिटी थ्रेड)। सक्कली नोटमा सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ भने नक्कलीमा धागोपछि लेपको रूपमा मात्र राखेको हुन्छ। यस्ता कुरामा नागरिक सधैं सचेत बन्नुपर्छ। नक्कली नोटको कारोबार गरे जाली मुद्रासम्बन्धी कसुरमा मुलुकी अपराध (संहिता) २०७४, तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुन्छ। त्यसैले यस्तो कार्यमा सबै सचेत बनौं । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित