
बैंकिङ खबर/ प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा छलफल भएको छ ।
आइतबार नेपाल धितोपत्र बोर्डसँग छलफल गर्दै समितिले यसअघि सांसद् रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित पुँजीबजार र मुद्राबजारसम्बन्धी अध्ययन उपसमितिले दिएको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे बोर्डसँग जानकारी मागेको हाे ।
बैठकमा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्र दलाल व्यवसायीसम्बन्धी नियमावली संशोधन गर्न अर्थ मन्त्रालयमा पेस गरिएको जानकारी गराउनुभएको थियो। उहाँले सोही नियमावलीमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने गरी व्यवस्था गरिएको समितिलाई जानकारी गराउनुभयो । उक्त नियमावली संशोधन भएलगत्तै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सकिने उहाँको भनाइ छ ।