Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गण्डकीमा बैंक, वित्तकाे निक्षेप १२.०२ प्रतिशतले वृद्धि: राष्ट्र बैंक(पूर्णपाठ)

२०७८ श्रावण २९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय पोखराले गरेको अध्ययनमा बैंक तथा वित्तीय संस्थाहरुबाट संकलित कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा १२.०२ प्रतिशतले वृद्धि भई ३ खर्ब ३६ अर्ब ५९ करोड पुगेको छ । त्यसैगरी, कुल कर्जा प्रवाह ११.८९ प्रतिशतले वृद्धि भइ २ खर्ब ७६ अर्ब ७३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तमा यस प्रदेशमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा संख्या १३२१ पुगेको छ । बैंक तथा वित्तीय संस्थाका शाखाहरु कास्की जिल्लामा सबैभन्दा बढी अर्थात् ३५३ र मनाङ जिल्लामा सबैभन्दा कम अर्थात् १४ वटा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुका शाखा विस्तार, नेपाल सरकारले उपलव्ध गराउने पेन्सन लगायत विभिन्न सुरक्षा भत्ताहरु तथा भारत  सरकारले अवकाशप्राप्त सैनिकहरुलाई प्रदान गर्ने पेन्सन बैक खातामार्फत उपलव्ध गराउन थालेकोले निक्षेपमा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप १६.७८ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा कुल कर्जा लगानी ११.८९ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ७६ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल कर्जा लगानी १६.१० प्रतिशतले वृद्धि भएको थियो । कुल निक्षेप र कर्जामा गण्डकी प्रदेशको हिस्सा क्रमशः ७.८६ र ७.५७ प्रतिशत रहेको अध्ययनले देखाएको छ । 

आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तमा यस प्रदेशमा निक्षेपकर्ताहरुको कुल संख्या २०७७ असार मसान्तको तुलनामा ११.२८ प्रतिशतले वृद्धि भई ४० लाख ९७ हजार ८५१ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि १७.७८ प्रतिशत रहेको थियो । अतिरिक्त सर्वसाधारणको वित्तीय चेतनामा भएको वृद्धि समेतले गर्दा निक्षेपकर्ताहरुको संख्यामा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमार्पmत विदेशी मुद्रा सटहीको इजाजतप्राप्त गरेका संस्थाहरुको संख्या १३८ रहेको छ । जसमध्ये, मनिचेन्जर ४४ वटा, होटल/रिसोर्ट ३५ वटा, ट्राभल एजेन्सी २६ वटा, ट्रेकिङ्ग एजेन्सी २८ वटा र अन्यको संख्या ५ रहेका छन्।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट यस प्रदेश अन्तर्गतका राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरुमा सञ्चालित ८ वटा नोटकोषहरुमा कुल रु.७ अर्ब ९५ करोड फण्ड ट्रान्सफर भएको छ । अघिल्लो
वर्षको यसै अवधिमा कुल रु.७ अर्ब ३६ करोड फण्ड ट्रान्सफर भएको थियो । 

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट रु.४६ करोड ४८ लाख बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ७६.३७ प्रतिशतले न्यून हो । अघिल्लो वर्ष रु.१ अर्ब ९६ करोड ६८ लाख बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको थियो । खरिद भएको कुल परिवत्र्य विदेशी मुद्रामा अमेरिकी डलरको अंश ५८.६० प्रतिशत, युरोको अंश २२.८४ प्रतिशत र बाँकी अन्य विदेशी मुद्राको रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट ३२ लाख बराबरको भा.रु. बिक्री भएको छ । २०७७ पुस मसान्तमा गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुमा बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पुँजी रु.१३ अर्ब ४७ करोड, कुल वचत रु.४६ अर्ब ४९ करोड र कुल कर्जा लगानी रु.५१ अर्ब २४ करोड रहेको छ । यस प्रदेशमा २२९८ बचत तथा ऋण सहकारी संस्थाहरुले ६ हजार ४७४ जनालाई रोजगारी प्रदान गरेका छन्।

गरिबी न्यूनीकरण गर्न चुनौतीपुर्ण

गण्डकी प्रदेशमा तत्काल आर्थिक गतिविधि विस्तार गरी गरिबी न्यूनीकरण गर्न चुनौतीपुर्ण रहेको छ । अध्ययन अनुसार उद्योग लगायतका क्षेत्रहरुमा कोरोनाको असरका कारण आय, रोजगारीका लागि आर्थिक गतिविधि बढाउने अवस्था नरहेको देखिएको हो । अध्ययनमा गण्डकी प्रदेशमा सडक, जलविद्युत लगायतका आयोजनाहरु समयमै सम्पन्न गर्न पर्याप्त स्रोत/साधन एवम् जनशक्तिको अभाव रहेको छ । जलविद्युत आयोजनाहरुमा जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, परियोजना निर्माणका लागि वनका रुख कटान लगायतका समस्यालाई समयमै सम्पन्न गर्न नसक्दा निर्धारित समयमा निर्माण कार्य प्रारम्भ गर्न समस्या रहेको अध्ययनले देखाएको छ । उत्पादकत्व अभिवृद्धिका माध्यमबाट प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि क्षेत्रलाई थप आधुनिकीकरण, व्यावसायिकीकरण, यान्त्रिकीकरण तथा विविधीकरण गर्न आवश्यक रहेको अध्ययनले देखाएको छ । औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधार विकास एवम् लगानीमैत्री वातावरणको निर्माणका लागि थप गृहकार्य गर्नु पर्ने अध्ययनले देखाएको छ ।

गत आर्थिक वर्षको पुसम्ममा गण्डकी प्रदेशमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल २ प्रतिशतले वृद्धि भएको छ । धान, मकै र आलु बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ०.२५ प्रतिशत, ०.२९ प्रतिशत र १९.६६ प्रतिशतले वृद्धि भएको छ । तेलहनले ढाकेको क्षेत्रफल १.३६ प्रतिशतले वृद्धि भएको छ भने दलहनले ढाकेको क्षेत्रफल १.९३ प्रतिशतले घटेको छ । त्यसैगरी स्याउ खेती गरिएको क्षेत्रफल १८.९२ प्रतिशत, केरा खेती गरिएको क्षेत्रफल ५.९६ प्रतिशत तथा सुन्तला खेती गरिएको क्षेत्रफल ५.४० प्रतिशतले वृद्धि अध्ययनले देखाएको छ । सो अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन २.७९ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुसम्ममा आलुको उत्पादन २८.५५ प्रतिशत, कोदोको उत्पादन ४.६० प्रतिशत र मकैको उत्पादन १.३० प्रतिशतले वृद्धि भएको छ । तरकारी तथा बागवानी तर्फको उत्पादन १४.८२ र फलफूल तथा मसला बालीको उत्पादन भने ९.७३ प्रतिशतले वृद्धि भएको छ ।

हेर्नुहोस् पूर्णपाठ

Ad