Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मिर्मिरे लघुवित्तको खुद नाफा झण्डै ६ गुणाले बढ्यो

२०७८ श्रावण १४ गते


बैंकिङ खबर/काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै ६ गुणा बढेर ३ करोड ४३ लाख रुपैयाँबाट २० करोड १ लाख रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै निष्क्रिय कर्जा पनि घटाउन सफल भएपछि लघुवित्तको नाफामा सुधार आएको हो ।

विभिन्न लघुवित्तहरुलाई आफुमा गाभ्दै अगाडि बढेको यस लघुवित्त, मर्जर तथा एक्विजिशनपश्चात बलियो बन्दै गएको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२९.२० प्रतिशत अन्य सञ्चालन आम्दानी १९९.७५ प्रतिशत र सञ्चालन मुनाफा ४९०.१६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १०८.५१ प्रतिशत, जगेडा कोष ३३४.१४ प्रतिशत, सापटी १९२.७७ प्रतिशत, निक्षेप ९०.४३ प्रतिशत र कर्जा १५९.६९ प्रतिशत बढेको छ ।

नाफा र चुक्ता पूँजीसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको इपीएस २९ रुपैयाँ ५२ पैसा बढेको छ । लघुवित्तको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा २.९४ प्रतिशतबाट घटेर १.९९ प्रतिशतमा झरेको छ ।

कर्मचारीहरुलाई धमाधम तालिम 

संस्थाले गत वर्षको भन्दा अझ राम्रो उपलब्धी हासिल गर्नको लागि यस आर्थिक वर्षको शुरुवातबाट डेढ सयको हाराहारीमा शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम सम्पन्न गरेको छ ।

यस आर्थिक वर्षको लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नको लागि संस्थाले आर्थिक वर्षको शुरुको दिनबाट देशका विभिन्न स्थानमा शाखा प्रमुखहरुलाई भेलापारी व्यवसाय बृद्धि, गुणस्तरीय लगानी, मैत्रीपुर्ण सेवाप्रवाह, जोखिम व्यवस्थापन, तनाव व्यवस्थापन लगायतका विषयहरुमा तालिम दिएको हो । साउन १ गतेदेखि महोत्तरीको बर्दिवासबाट शुरु भएको तालिम कार्यक्रम क्रमशः डडेलधुराको अमरगढी, कैलालीको बौनिया र झापाको बिर्तामोडमा कार्यक्रम गर्दै बुधबारबाट चितवनको भरपुरमा तालिम प्रदान गरेको छ ।

तालिमले कर्मचारीहरुमा उत्साह, थपउर्जा तथाव्यक्तिगत सीप र ज्ञानको बृद्धि भएको र लक्ष्यअनुसारको उपलब्धीहासिलगर्नको लागि धेरै सहजभएको हेटौंडा क्षेत्रका क्षेत्रीय प्रमुख तर्क रावलले जानकारी दिनुभयो । शाखाप्रमुुखहरुलाई आन्तरिक रुपमा कार्यकारी प्रमुखहरु, विभागिय प्रमुखहरु तथा क्षेत्रीय प्रमुखहरुहरुले प्रशिक्षित तथा सहजिकरण गर्नुभएको थियो ।
संस्थाले शाखा प्रमुखहरुको लागि मात्र नभई शुक्रबार र शनिबार चितवनकै सौराहामा अनुगमन प्रमुखहरु तथा क्षेत्रीय प्रमुखहरुको लागि प्रशिक्षण तथा समिक्षा कार्यक्रम राखिएको संस्थाका तालिम विभाग प्रमुख राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

मिर्मिरेको चौथो त्रैमासको रिपोर्ट सन्तोषजनक रहेको र यस आर्थिक वर्ष उच्च लक्ष्य लिइएकोमा कर्मचारीहरुमा उच्च मनोवलले काम गर्ने वातावरण बनाउनको लागि कार्यक्रमहरुको नियमितता गरिएको संस्थाका सहायक प्रमुख कार्यकारी विर्ख बहादुर बोहराले बताउनुभयो ।

शाखा प्रमुख तथा अनुगमन प्रमुखहरु पश्चात फिल्ड तहका कर्मचारीहरु एवं सदस्य लक्षित विभिन्न कार्यक्रमहरु वर्ष भरि नै संचालन गरिने र सदस्य सेवालाई प्रधानता राखेर कार्यक्रमहरु गरिने संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।