
बैैंकिङ खबर/हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाईसेन्स वितरण प्रक्रियामा १ अर्ब बढी आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
पाँच विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिहीबार उजुरी दर्ता गरेका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले भित्र कै माधव नेपाल समुह निकट अनेरास्ववियु, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स रद्ध गर्न माग गर्दै उजुरी हालेको बताएका छन् ।

उजुरीमा लाईसेन्स प्रकरणमा संलग्नहरुलाई छानविन र आवश्यक कारवाहीको गर्न माग गरिएको छ । उजुरीमा हिमालयन रिलाई नै लाइसेन्स दिने गरि छनौटका मापदण्ड तयार पारेको र त्यसमा एक अर्ब भन्दा बढी आर्थिक चलखेल गरेको आरोप उजुरी पत्रमा रहेको छ ।
बीमा समितिले हालै नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई दिने निर्णय गरेको थियो ।
समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये हिमालय रि–इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय गरेको थियो ।
नयाँ कम्पनीका लागि हिमालयनसँगै प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले निवेदन दिएका थिए ।
लाइसेन्स प्राप्त गरेको हिमालयन पुनर्बीमा कम्पनीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष भवानी राणा, नेपाल परिसङ्घका अध्यक्ष सतीशकुमार मोरसहित विभिन्न ठूला व्यापारिक घरानाको लगानी रहेको छ ।
