
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री अवधि थप गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै उक्त बचतपत्रको बिक्री अवधि थप गरिएको जानकारी गराएको छ ।
राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासमा(मिति २०७८/०२/१३ देखि २०७८/०३/०३ गतेसम्म) बिक्री खुला गरिएको रु. ५० करोडको वैदेशिक रोजगार बचतपत्र २०८३ को बिक्री खुला गर्ने अवधि मिति २०७८/०३/१८ गतेसम्म थप गरिएकोले खदि गर्न इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुबाट आवेदन आह्वान गरिन्छ ।’
वैदेशिक रोजगार बचतपत्र के हो ? केके छन् फाइदाहरु ?
नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो वैदेशिक रोजगार बचतपत्र । वैदेशिक रोजगारीमा रहेका युवाहरुबाट यस बचतपत्रअन्तर्गत आन्तरिक ऋण उठाइन्छ । मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ४ महिना नपुगेको व्यक्तिले यो बचतपत्र किन्न पाउँछन् । विदेशमा हुनेले बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न पाउँछन् ।
फाइदाहरु
यस्तो बचतपत्रमा निश्चित वर्षका लागि लगानी गरिन्छ । उक्त अवधि सकिएपछि सावाँसहित फिर्ता पाइन्छ ।
व्याज वाणिज्य बैंकहरुमा प्रचलितभन्दा बढी पाइन्छ । अहिले जारी गरिएको वैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत व्याज दिइएको छ ।
व्याजका लागि भने पूरै समय कुर्नुपर्दैन । बचतपत्रको अवधि नसकिँदासम्म ६।६ महिनामा व्याज भुक्तानी पाइन्छ ।
आवश्यक परे बचतपत्रलाई धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थावाट रकम झिक्न पनि सकिन्छ भने विक्री गर्न पनि सकिन्छ ।
यस्तो बचतपत्रमा लगानी गर्नु भनेको देशको विकासमा योगदान पुर्याउनु हो । किनकि, यसरी उठाएको रकम राष्ट्र बैंकमार्फत सरकारले विकास निर्माणका काममा प्रयोग गर्छ ।