
बैंकिङ खबर/ आर्थिक वर्ष २०७७/०७८ को अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ४२ खर्ब ६६ अर्ब ३२ करोड रहने भएकाे छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७७/०७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै साेमध्ये वाग्मती प्रदेशको अंश सबैभन्दा बढी ३७.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.० प्रतिशत रहने अनुमान रहेकाे बताउनुभयाे ।
उहाँले आर्थिक वर्षको दोस्रो चौमाससम्म आर्थिक अवस्था राम्रै रहेपनि कोभिडको प्रभावले तेस्रो त्रैमासमा समग्र अर्थतन्त्रमा प्रभाव पर्दा राष्ट्रिय योजना आयोगको अनुमान अनुसारको ४.१ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण बनेको बताउनुभयाे ।
चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य प्रस्तुत गर्नुभएको थियो । तर बजेको मध्यावधि समिक्षामार्फत अर्थमन्त्री पौडेलले करिब ५ प्रतिशको आर्थिक वृद्धि हुने अनुमान रहेको बताउनुभयाे ।
उहाँले चालु आर्थिक वर्षमा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा साढे ३ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि हाासिल हुने बताउनभुयाे । चालु आर्थिक वर्ष २०७७/०७८ मा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २.६ प्रतिशत, ५.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा धानको उत्पादन १.३ प्रतिशतले वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षको कुल लगानी १८ प्रतिशतले बढ्ने अर्थमन्त्रीले बताउनुभयाे । आर्थिक वर्ष २०७६/०७७ मा कुल लगानी ३०.४ प्रतिशतले सङ्कुचन भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा १८.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने सरको अनुमान छ ।
कुल गार्हस्थ उत्पादनसँग बचतको अनुपात ६.६ प्रतिशत पुग्ने र चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वद्धि भई अमेरिकी डलर ११९१ पुगेको सरकारको अनुमान छ । त्यसैगरी, प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको आर्थिक सवेक्षणमा उल्लेख छ ।
यस्तै ०७७ फागुनसम्म सरकोको तिर्न बाँकी खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ३७.३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।
यस्तै फागुनसम्म ७ अर्ब ४८ करोड अनुदान र ८५ अर्ब २ करोड ऋण गरी जम्मा ९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । यस अवधिमा ऋणतर्फ ५० अर्ब ३८ करोड र अनुदानतर्फ ९ अर्ब ७१ करोड गरी जम्मा ६० अर्ब ९ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको आर्थिक सवेक्षणमा उल्लेख छ ।
हेर्नुहोस् पूर्णपाठ