Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कोरोना मन्दीको असर बैंक/वित्तमा : कर्जा माग पनि छैन, निक्षेप संकलन पनि छैन !

२०७८ जेष्ठ ९ गते

बैंकिङ खबर/ कोरोना महामारी नियन्त्रणका लागि जारीे निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप संकलन स्थिर रहेको छ । लकडाउनका बेला आर्थिक गतिविधि ठप्प भएकाले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप संकलन पनि प्रभावित भएको हो । बैंकहरुले अहिले आलोपालोका आधारमा दैनिक २५ प्रतिशत शाखा मात्र सञ्चालनमा ल्याएका छन् ।

कर्जा प्रवाह स्थिर
वैशाख १६ यता बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह स्थिर छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत वैशाख १५ मा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह कुल ४० खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ । यही जेठ ३ सम्म यस्तो कर्जा बढेर ४० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह करिब २४ अर्ब रुपैयाँ मात्र बढेको देखिन्छ । अघिल्लो पटक २०७६ चैत ११ देखि सरकारले लकडाउन गरेको थियो । त्यति बेला चैतमा पहिल्यै स्वीकृत भएका केही कर्जा प्रवाह भएका थिए । तर वैशाखदेखि भदौ अन्तिम सातासम्म कर्जा प्रवाह ठप्प थियो । अहिले पनि त्यही अवस्था दोहोरिएको बैंकरहरूले बताएका छन् ।

बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्याय निषेधाज्ञाका कारण लगानीका लागि कर्जाको माग नै नभएको बताउनुहुन्छ । कर्जा माग नभएपछि वित्तीय प्रणालीमा तरलता थुप्रिएको छ । अन्तर बैंक दर घटेर ५ प्रतिशतबाट ३ प्रतिशतमा झर्नुले पनि वित्तीय प्रणालीमा तरलता धेरै रहेको बुझाउँछ ।

धेरै बैंकमा कारोबारको अवस्था स्थिर नै छ । अहिले पुँजीगत खर्च पनि धेरै भएको छैन । पुनर्कर्जा र रेमिट्यान्समार्फत केही पैसा आएको छ । त्यही पैसाले सामान्य गतिविधि भइरहेको छ । अघिल्लो लकडाउनमा कर्जा प्रवाह ठप्प भए पनि निक्षेप संकलन उल्लेख्य बढेको थियो ।

 

Ad