Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘प्रभु सेलेक्ट फण्ड’मा लगानीको अबसर : ढुक्कले गर्नुस् लगानी !

२०७८ जेष्ठ ३ गते

बैंकिङ खबर / प्रभु सामुहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फण्डले आगामी जेष्ठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्दैछ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवर्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ । निष्काशित कुल इकाईमध्ये कोष प्रवर्धक प्रभु बैंक लिमिटेडले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गतेबाट छिटोमा जेष्ठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १९ गतेसम्म इकाई बिक्री खुला रहने छ ।

‘एकदम सेलेक्टिभ फण्ड’
प्रभु क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फण्ड बन्दमुखी सामूहिक लगानी योजना हो । यस योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित दरमा १० करोड वटा इकाईको बिक्री गरी एक अर्ब बराबरको रकम संकलन गरी त्यो रकमको ८० देखि १०० प्रतिशतसम्म शेयरमा लगानी गरिनेछ । निष्कासन गर्न लागेको प्रभु सेलेक्ट फण्डको नामले प्रष्ट हुन्छ यो फण्ड एकदम सेलेक्टिभ छ ।
सेलेक्टिभ हुन किन जरुरी छ भने नेपालको शेयर बजारमा धेरैवटा सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसरी सूचीकृत कम्पनीहरुमध्येमा कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको तथा निश्चित समय अन्तरालमा बजार सूचकभन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरु छनोट गरी ती मध्ये ३० वटा कम्पनीहरुको शेयरमा मात्रै लगानी गरी नियमित खरिद बिक्री गर्नेछ ।
यो फण्डको लगानी रणनीति भनेको नै आगामी दिनमा नेप्सेले जारी गर्ने तयारी गरेको नेप्से ३० नामक इण्डेक्सको प्रतिस्पर्धी तथा रिफरेन्स बेन्चमार्कको रुपमा स्थापित हुने तथा त्यसका लागि निरन्तर अधिकतममा ३० वटा कम्पनीहरुलाई पोर्टफोलियोमा लिएर अगाडि बढ्ने हो ।

‘साना लगानीकर्ताका लागि लक्षित’
यसले नेपाल धितोपत्र बोर्डले जारी गरेको सामूहिक लगानी कोष नियमावलीले तोकेको क्षेत्रहरुमा लगानी गर्नेछ । सरकारले जारी गरेको वा उसको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरि बताउनुहुन्छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप, मुद्रा बजार उपकरणमा लगानी गर्नेछ ।
यसरी लगानी गर्दा फण्डले अधिकतममा ८० देखि १०० प्रतिशतसम्म स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुमध्ये ३० वटा कम्पनीहरुमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ । यो युनिट करोडौं करोड लगानी भएका लगानीकर्ताहरुभन्दा पनि विभिन्न क्षेत्रमा असंगठित रूपमा काम गर्ने, आफूसँग भएको स-सानो बचतलाई लगानीमा रुपान्तरण गर्न चाहने लगानीकर्ताहरुको लागि बढी लक्षित रहनेछ ।

एक कप चियाभन्दा पनि सस्तो
कालो चिया एक कपको लागि मात्रै २० रुपैयाँ तिर्छौं । तर प्रभु सेलेक्ट फण्डमा १० रुपैयाँले नै युनिट होल्डर बन्न पाइन्छ । म्युचुअल फण्डको युनिटमा लगानी गर्नु भनेका एक कप चियाभन्दा सस्तो हो । यसले सर्वसाधारणसँग भएको स–सानो रकमलाई बचत गर्दै लगानीमा रुपान्तरण गर्न सघाउँछ । त्यसैले शेयर बजारमा पर्याप्त समय दिन नसक्ने, ज्ञान र अनुभव नभएका तथा थोरै थोरै भए पनि लगानी गर्छु भन्नेहरुले उचित प्रतिफलका लागि तथा जोखिम न्यूनीकरणका लागि सामूहिक लगानी योजना मै लगानी गर्नुपर्छ ।

३० कम्पनीमा लगानी व्यवस्थापन गर्ने योजना

कम्पनीले ३० वटा कम्पनीहरुमा लगानी व्यवस्थापन गर्ने योजना बनाएको छ । प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत गिरि भन्नुहुन्छ, ‘हामीसँग २१ वटा सामूहिक लगानी योजनाहरु सञ्चालनमा छन् । तर सबै सामूहिक लगानी योजनाहरुको संरचना र स्वरुप एकबाट अर्कोसँग दाँज्दा फरक फरक छ । त्यो भिडमा हामी कसरी अरुभन्दा फरक छौं भन्ने कुरा गर्नुपर्दा हामी सेलेक्टिभ छौं । जम्मा ३० वटा कम्पनीहरुमा लगानी व्यवस्थापन गर्ने योजना बनाएका छौं । यसले लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल तथा जोखिम व्यवस्थापनको साथै समग्र बजारलाई नेप्सेका परिसूचकसँग दाँज्न मिल्ने एउटा बेन्चमार्क प्रदान गर्नेछ ।’ अहिले कम्पनीले आफ्नो पुँजीसहित करिब २ अर्ब रकमको व्यवस्थापन गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार त्यसबाट शेयरधनी तथा सेवाग्राहीहरुले उच्च प्रतिफल प्राप्त गरेका छन् । अधिकृत गिरि भन्नुहुन्छ, ‘त्यो किन भन्दा हाम्रो लगानी रणनीति नै हो। यसभन्दा अघि बजार डाउनट्रेण्डमै रहेको बखत समेत हामीले बजारबाटै लगानी गरेरै मुनाफा कमाएर प्रतिफल दिएको अनुभव हामीसँग छ ।’

उहाँ थप्नुहुन्छ, ‘बजारमा इन्ट्री र एक्जिट गर्ने बेलामा हरसमय जोखिम नै रहन्छ । चाहे तपाईँले ११०० तहमा बजार प्रवेश गर्नुहोस्, चाहे तपाईं अहिले २६०० को लेभलमा । मेजोरिटिमा के हुन सक्छ भन्ने कुराको लेखाजोखा । जसले ११०० को तहमा बजार अझै तल जान्छ होला भनेर खरिद गर्न सकेनन् तिनीहरुले १२०० वा १५०० को रेन्जमा गएर खरिद गर्न त झनै असहज माने र मान्दामान्दै पनि छिरेकाहरु १८८१ पुगेपछि झस्केर निस्के फेरि २००० कटेपछि छिरे र बजारमा सानो करेक्सन आउनासाथ डराएर निस्किए । यसरी गर्नेहरुले हेर्नुस् बजार ११०० बाट २६०० पुग्दा पनि ३०/४० प्रतिशत भन्दा माथि कमाउन सकेनन् । तसर्थ यो प्रवृत्ति हो, डर हो ।’

जहिले पनि कम्पनीको व्यवसायिक वृद्धि र उसको प्रतिफलमा ध्यान दिने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहन्छ,‘हामीले छनोट गरेको कम्पनीले आफ्नो पुँजी अनुसारको व्यवसाय विस्तारको गति लिन सकेको छ वा छैन र अरु सोही प्रकारका कम्पनीहरुको अवस्थालाई दाँजेर हेर्दा कम वा बेसी के छ ? समग्र इण्डष्ट्रीको औसत प्रोफिट मार्जिन र हामीले हेरेको कम्पनीको प्रोफिट मार्जिन दर के छ भनेर हेर्छौं। यी सबै कुरा भनेको जोखिम व्यवस्थापनको एउटा पाटो हो। लगानी गर्ने भन्दै गर्दा मूल्यमा मात्रै वृद्धि हुन्छ भनेर मात्रै हेर्दैनौं । त्यो कम्पनीको आधारभूत कुरामा वृद्धि हुन सक्नुपर्दछ ।’

२० प्रतिशतको प्रतिफल
प्रक्षेपण अनुसार युनिट होल्डरहरुले वार्षिक रूपमा औसतमा २० प्रतिशतको प्रतिफल प्राप्त गर्नुहुनेछ । निरन्तर ७ वर्ष लगानी गर्ने युनिट होल्डरले म्याचुरिटी अवधिसम्म करिब ३ गुणा प्रतिफल पाउनुहुनेछ ।

 

Ad