बैंकिङ खबर/ कोभिडको अतिसंक्रामक दोस्रो लहर देशैभर फैलिएका कारण देशको कतिपय भागमा बैंकिङ सेवा बन्दप्रायः अवस्थामा पुगेका छन् । निषेधाज्ञाको सुरुवातमा बैंक तथा वित्तीय क्षेत्रलाई यथासम्भव सीमित कर्मचारीमार्फत सम्पूर्ण सेवाका लागि अनुमति दिइए पनि संक्रमण बढ्दै गएपछि कडाइ गर्न थालिएको छ । यतिवेला देशका सबै भागमा बैंकिङ सेवा सीमित हुँदै गएका छन् भने कतिपय स्थानमा बन्दकै अवस्था सिर्जना भएको छ ।
संक्रमणको जोखिम उच्च भएका स्थानहरूमा स्थानीय प्रशासनहरूले एकजना मात्र प्राविधिक कर्मचारीको उपस्थितिमा बैंकिङ सेवा दिन अनुमति दिइरहेका छन् । कतिपय बैंक शाखाहरू कर्मचारीमा संक्रमणका कारण अनिश्चित कालका लागि स्थगित भएका छन् ।
सुदूरपश्चिम
सुदूरपश्चिममा पनि बैंक तथा वित्तीय संस्थाहरू बढ्दो कोरोना संक्रमणको चपेटामा आएका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको सिलगढीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ । बैंकमा कार्यरत एक कर्मचारीलाई कोभिडको संक्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब परीक्षण रिपोर्ट आउनेक्रममा रहेकाले शाखा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको जानकारी बैंकले सूचनामार्फत गराएको छ । बैंक बन्द हुँदा विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने स्थानीयलाई बढी मर्का परेको स्थानीय जनप्रतिनिधको भनाइ छ । समग्रमा संक्रमण दर पहिलेभन्दा उच्च रहेको कोभिडको नयाँ भेरियन्टयुक्त दोस्रो लहरका कारण देशैभर बैंक तथा वित्तीय संस्थाहरूको सेवा प्रभावित बन्न पुगेको छ ।
सुुदूरपूर्व (ताप्लेजुङ)
सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङमा कोरोनाको बढ्दो संक्रमणका कारण स्थानीय प्रशासनले बैंकिङ सेवामा कडाइ गरेको छ । फुङलिङ नगरपालिकामा संक्रमणका केस बढ्दै गएपछि २० वैशाखदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । संक्रमणको जोखिम उच्च भएसँगै प्रशासनले बैंक तथा वित्तीय संस्थालाई एकजना मात्र प्राविधिक जनशक्तिको उपस्थितिमा सेवा दिन पाउने गरी सेवालाई सीमित गरेको जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जानकारी दिनुभयो ।
‘यहाँ संक्रमणको अवस्था भयावह छ,’ मादेनले बैंकिङ खबरसित भन्नुभयो, ‘सानो ठाउँमा संक्रमितको संख्या एक सय नाघिसकेको अवस्था छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूलाई एकजना मात्र कर्मचारी राखेर सीमित सेवा दिन प्रशासनले निर्देश गरेको छ ।’
प्रायः बैंक तथा वित्तीय संस्थाका शाखाहरू साताको एक वा दुई दिन मात्र खुल्ने गरी सञ्चालन भइरहेको मादेनले जानकारी दिनुभयो । संक्रमणका प्रायः सबै केस फुङलिङ नगरपालिकाभित्रै रहेको उहाँको भनाइ छ ।
पश्चिम तराई (रूपन्देही र कपिलवस्तु)
पश्चिम तराईका जिल्लाहरूमा पनि संक्रमण बढ्दै गएपछि निषेधाज्ञामा थप कडाइ गरिएको छ, फलस्वरूप बैंकिङ सेवा प्रभावित बनेको छ । रूपन्देहीमा पनि बैंकिङ सेवा ताप्लेजुङकै जस्तो अवस्थामा छ । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेसँगै बैंकिङ सेवालाई सीमित गरिएको हो । बैठकले बैंकहरूमा एक–एक जना प्राविधिक जनशक्तिबाट मात्र सेवाप्रवाह गर्ने गरी ३० वैशाखसम्मलाई बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि शुक्रबार (२४ वैशाख) देखि ३१ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिएको छ । कोभिडको संक्रमण तथा जोखिम बढ्दै गएपछि नगरपालिकाले बैंकवित्त बन्द गरेको हो । नगरप्रमुख मंगलप्रसाद थारूले हालका लागि बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । एटिएमको प्रयोग तथा विद्युतीय कारोबार भने निर्देशनबमोजिम गर्न पाउने व्यवस्था नगरपालिकाले गरेको छ ।
कोरोनाको दोस्रो लहरमा संक्रमणको केन्द्रविन्दु सावित भएको मध्यपश्चिमको तराई भाग र सुदूरपश्चिममा पनि यतिवेला बैंकिङ सेवा प्रभावित छ ।




