बैंकिङ खबर/ चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा बैंकवित्तको योगदान बढ्ने प्रक्षेपण राष्ट्रिय तथ्यांक विभागले गरेको छ । विभागले चालु आवमा वित्तीय मध्यस्थता (फाइनान्सियल इन्टरमेडिएसन) क्षेत्रको योगदान ५.८२ प्रतिशतले कुल मूल्य अभिवृद्धि (जिभिए) मा वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । चालु आवमा वित्तीय मध्यस्थता क्षेत्रले जिडिपीमा ६.८८ प्रतिशत योगदान गर्ने प्रक्षेपण विभागको छ ।
वित्तीय मध्यस्थता क्षेत्रमा के–के पर्छन् ?
वित्तीय मध्यस्थता क्षेत्रअन्तर्गत बैंकिङ समूहमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरुका साथै सहकारी संस्थाहरुको कारोबारलाई समेटिएको छ । यसै क्षेत्रअन्तर्गत बीमा समूहमा बीमा समिति, जीवन र निर्जीवन बीमा कम्पनीहरुको कारोबारलाई राखिएको छ । त्यस्तै, क्षेत्रअन्तर्गत सामाजिक सुरक्षा योगदान समूहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कर्मचारी सञ्चय कोष, नागरिक लगानीकोष आदि संस्थाको कारोबारलाई समावेश गरिएको छ ।
चालु आवमा वित्तीय मध्यस्थता क्षेत्रमा समग्र रुपमा बढोत्तर क्रियाकलाप भएको जनाउँदै विभागले गत आवको तुलनामा चालु आवमा यस क्षेत्रको जिडिपीमा योगदान बढ्ने प्रक्षेपण गरेको हो ।