Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

होली बिदामा पनि ‘आरटिजिएस’मा ‘नर्मल बिजनेस डे’ : राष्ट्र बैंक

२०७७ चैत्र १३ गते

बैंकिङ खबर/  फागुपूर्णिमा (होली) बिदामा पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमार्फत हुने कारोबार नियमित हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै होली बिदामा समेत आरटिजिएस प्रणालीमा ‘नर्मल बिजनेस डे’ सञ्चालन हुने जानकारी दिएको हो ।

पहाडी जिल्लाहरुमा आगामी आइतबार (१५ चैत) र तराईका जिल्लाहरुमा सोमबार (१६ चैत) मा होलीपर्वको सार्वजनिक बिदा छ । दुवै दिन आरटिजिएस प्रणालीमार्फत हुने कारोबारमा कार्यालय खुल्ने आइतबारदेखि बिहीबारसम्मका दिनमा जस्तै (नर्मल बिजनेस डे) सञ्चालन हुने जानकारी राष्ट्र बैंकले दिएको हो । यसको अर्थ बैंक तथा वित्तीय संस्थाले आइतबार र सोमबारको सार्वजनिक बिदामा पनि क्लियरिङ शाखा सदाझैँ खोल्नुपर्नेछ ।

के हो आरटिजिएस प्रणाली ?
रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) पैसा स्थानान्तरण (टन्सफर) को विद्युतीय प्रणाली हो । यो प्रणालीमार्फत जुनसुकै बैंकको खातामा रहेको पैसा जुनसुकै बैंकको खातामा केही सेकेन्डभित्रै ट्रान्सफर गर्न सकिन्छ ।

झट्ट हेर्दा आइपिएसलगायत अन्य फन्ड ट्रान्सफर प्रणालीजस्तै लागे पनि यो प्रणालीका केही पृथक् विशेषता छन् । आइपिएसलगायतका प्रणालीको प्रयोग उपभोक्ता आफैँले अनलाइनमार्फत जुनसुकै स्थानबाट गर्न सक्छन् । तर, एसटिजिएस प्रणालीमार्फत पैसा पठाउन ग्राहकले बैंकमै जानुपर्ने हुन्छ । क्लियरिङ हाउसमातहतमा सञ्चालन हुने यो प्रणालीअन्तर्गतको सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र दिन सक्छन् ।

२० लाखभन्दा बढीको कारोबारमा अनिवार्य छ आरटिजिएस
आरटिजिएस प्रणालीमा २ लाखभन्दा बढीको कारोबार हुन्छ । तर, २ लाखदेखि २० लाखसम्मको कारोबारमा आरटिजिएस नै प्रयोग गर्नुपर्ने बाध्यता ग्राहकसामु छैन, किनकि २० लाखसम्मको कारोबारका लागि ग्राहकले आफ्नो सुविधाअनुसार अन्य फन्ड ट्रान्सफर प्रणालीको समेत उपयोग गर्न सक्छन् । तर, २० लाखभन्दा बढीको कारोबारमा भने आरटिजिएस नै एक मात्र विकल्प हो । यो प्रावधानका कारण २० लाखभन्दा बढी रकम कुनै बैंकको खातामा पठाउनुपरेमा ग्राहकले बैंकमा उपस्थित भई आरटिजिएसको फर्म भर्नुपर्छ । यही बाध्यताका कारण नै बिदाको दिन पनि यो प्रणालीलाई खुला राखिएको हो ।

Ad