बैंकिङ खबर/ नेपालमा ७ सय ५३ स्थानीय तहमध्ये ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विवरणअनुसार माघसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको हो ।
२०७६ माघसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थितिलाई हेर्दा प्रदेश नं. १ मा १३७ स्थानीय तहमध्ये १ सय ३६ मा शाखा पुगिसकेको र एकमा पुग्नेक्रममा छ । प्रदेश १ मा ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा बैंक शाखा पुग्ने क्रममा रहेका छन् ।
प्रदेश नं.२ का १ सय ३६ स्थानीय तहमध्ये सबै तहमा बैंक शाखा पुगेका छन् । बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये माघसम्म १ सय १८ स्थानीय तहमा बैंक शाखा पुगेको छ । अझै धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकामा बैंक शाखा पुग्ने क्रममा रहेको छ । गण्डकीका ८५ स्थानीय तहमध्ये सबै स्थानीय तहमा बैंक शाखा पुगेको छ ।
लुम्बिनीका सबै १ सय ९ स्थानीय तहमा बैंक शाखा पुगेको छ । कर्णालीमा ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंक शाखा पुगेका छन् भने जाजरकोटको जुनीचदि गाउँपालिकामा पुग्ने क्रममा रहेको छ । सुदूर पश्चिमका ८८ स्थानीय तहमध्ये ८७ स्थानीय तहमा बैंकका शाखा पुगेको छ भने बझाङ जिल्लाको काँडा गाउँपालिकामा पुग्ने क्रममा रहेको छ ।