बैंकिङ खबर/ नेपाल फाइनान्सले नवलपरासीको गैँडाकोटमा शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका–२८ मा केन्द्रीय कार्यालय रहेको फाइनान्सले गैँडाकोट नगरपालिका–४, गैँडाकोट बजारमा स्थापित नयाँ शाखाको बुधबार उद्घाटन गरेको हो ।
नेपाल फाइनान्स सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले नयाँ शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालकहरु चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गौतमको उपस्थिति थियो । यसैगरी, कार्यक्रममा स्थानीय बुद्धिजीवी तथा प्रतिष्ठित व्यावसायीहरु महेन्द्रध्वज जि.सी., अमृत भट्टचन, गोपाल सापकोटा, चित्रध्वज जि.सी.लगायतको सहभागिता रहेको फाइनान्सले जनाएको छ ।
निजी क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ मा स्थापित नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादीमा छ । फाइनान्सले ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा र रुपन्देहीको मुर्गिया शाखा कार्यालयमार्फत समेत वित्तीय सेवा दिँदै आएको छ ।
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्तापुँजी करिब ५५ करोड पुग्नेछ । संस्थाले कास्कीको माच्छापुच्छे« गाउँपालिका, जनकपुरको धनुषाधाम, हेटौँडामा शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । साथै, काठमाडौंको कान्तिपथ र कालिमाटीमा विस्तारित काउन्टर पनि चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको फाइनान्सले जनाएको छ । नयाँ शाखा तथा विस्तारित काउन्टरको स्थापनासँगै फाइनान्सले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्नेछ । सम्पूर्ण रुपमा डिजिटल बैंकिङ सेवा छिट्टै सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी संस्थाले दिएको छ ।