
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्या बढेको छ ।
गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोवार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र रु.४६ करोड ७० लाखभन्दा बढीको कारोवार भएको छ । गत पुसमा रु.एक अर्ब २४ करोेड ५० लाख बराबरको कारोवार भएकामा माघमा रु.एक अर्ब ७१ करोड २० लाख बराबरको कारोवार भएको हो ।
गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोवार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोवार भएको छ ।
पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोवार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोवार भएको छ ।
यसैबीच राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र रु एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोवार भएको छ ।
उक्त प्रविधिको प्रयोग गरी पुसमा रु एक खर्ब ५३ अर्ब १७ करोड बढीको कारोवार भएको थियो । बैंकको तथ्यांकअनुसार माघमा मात्र कनेक्ट आइपिएसमार्फत रु एक खर्ब चार अर्ब ३९ करोडभन्दा बढीको कारोवार भएको छ । सो अवधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आइपिएसको प्रयोग भएको छ ।
माघमा मोबाइल बंैकिङमार्फत रु ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोवार भएको छ । गत पुसमा रु ३३ अर्ब १५ करोड तीन लाख बढीको कारोवार भएको छ । माघमा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोवार भएको छ ।
इन्टरनेट बैंकिङमार्फत रु नौ अर्ब २२ करोड ७० लाख बढीको कारोवार भएको छ । माघमा ३१ हजार ४८२ पटक कारोवार भएको छ । वालेटमार्फत पुसमा रु नौ अर्ब ६५ करोड ६० लाख बराबरको कारोवार भएकामा उक्त रकममा वृद्धि भई माघमा रु नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोवार भएको छ । एक महीनामा एक करोड ५१ लाख छ हजार पटक कारोवार भएको छ ।
यसैगरी गत पुसमा अनलाइन (इ–कमर्श) बाट रु ८४ करोड ३० लाख बराबरको कारोवार भएकामा माघमा उक्त रकममा वृद्धि भई रु ९३ करोड २० लाख बराबरको कारोवार भएको छ ।
के हो क्यूआर कोड ?
क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ ।
सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।
क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।
तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् ।
रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ ।
‘क्यूआर कोड’को फाइदै फाइदा छ: गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘क्यूआर कोड’को प्रयोगबाट धेरै फाइदा रहेको बताउनुहुन्छ । पछिल्लो समय ‘क्यूआर कोड’बाट अर्बौ, खर्बौ सम्मको कारोबार हुने गरेको उनको भनाइ छ ।
‘पहिलो त यो कागजी नोटमा हाम्रो खर्च छ । हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ । एक रुपैयाँको सिक्का छाप्नलाई २ रुपैयाँ खर्च गर्नुपर्छ । ‘क्यूआर कोड’को प्रयोगले खर्च बचत हुन्छ’ उहाँ भन्नुहुन्छ,‘दोस्रो कुरा यसले समय बचत गर्छ । सेकेण्डमा पैसा लेनदेन हुन्छ । सयम बचाउँछ ।’
‘क्यूआर कोड’ कोड अत्यन्तै पारदर्शी हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यसमा लुकिछिपि कुनै कसैले दुई नम्बरी काम गर्ने कुरै आउँदैन् । यसमा तपाईले गरेको कारोबार रेकर्डमै देखिन्छ ।’
अर्को समाजमा देखिने नगदसँग सम्बन्धित क्राइमहरु रोक्न समेत यो प्रविधिको प्रयोग आवश्यक हुने उहाँको भनाइ छ । सभ्य समाज, आधुनिक समाज निर्माण गर्नका साथै व्यक्ति स्वयम् आधुनिक, सभ्य, सुशासित हुन पनि आधुनिक प्रविधिहरुको प्रयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ ।