बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्थाबारे पछिल्लो रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकद्वारा बुधबार सार्वजनिक रिपोर्टमा कोभिड १९ का कारण प्रभावित बनेको देशको अर्थतन्त्र क्रमिक रूपमा सुधारको क्रममा रहेको देखिएको छ । अधिकांश आर्थिक सूचकांकहरू सुधारोन्मुख रहेको माघ महिनालाई आधार मानेर तयार पारिएको पछिल्लो रिपोर्टले देखिएको छ ।
मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७०, थोक मुद्रास्फीति भने ६.१२ प्रतिशत
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७० प्रतिशत छ । मुद्रास्फीति मुद्राको क्रयशक्तिमा आउने गिरावट हो, जुन महँगी (मूल्यवृद्धि) को द्योतक हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत थियो । थोक मुद्रास्फीति भने ६.१२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत थियो ।
७.६ प्रतिशतले बढ्यो निर्यात
त्यसैगरी, आयात नगण्य अंकमा ०.०१ प्रतिशतले वृद्धि भई रु.८०३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो । आयातको तुलनामा निर्यात भने निकै बढेको छ, जुन अर्थतन्त्रका लागि सुखद पक्ष हो । गत महिना निर्यात ७.६ प्रतिशतले बढेको छ । सात महिनामा निर्यात रु.६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो ।
वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घट्यो
चालू आवको सात महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेर रु.७३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।
१०.९ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह
चालू आवको सात महिनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई रु.५६७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।
शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड बचतमा
यस अवधिमा शोधनान्तर स्थिति रु.९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।
४.३ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति
यस अवधिमा विदेशी विनिमय सञ्चिति रु.१४६२ अर्ब ३ करोड पुगेको छ, जुन यसै वर्षको असार मसान्तमा भन्दा ४.३ प्रतिशत बढी हो । असार मसान्तमा विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब ८४ करोड बराबर थियो । अमेरिकी डलरमा असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा माघ मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।
सात महिनामा संघीय सरकारको खर्च रु.४ खर्ब ९९ अर्ब ६८ करोड रहेको छ । त्यस्तै, राजस्व परिचालन रु.४ खर्ब ९८ अर्ब ५२ करोड भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
९.८ प्रतिशत बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, कर्जा प्रवाहमा १४.१ प्रतिशतले वृद्धि
सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ९.८ प्रतिशत र निजी क्षेत्रमाथिको दावी १४.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.४ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १७.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको थियो ।