Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयद्वारा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

२०७७ चैत्र १ गते

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंंक वीरगन्ज कार्यालयले बाराको बारागढी गाउँपालिका–६, गडहलस्थित गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालयमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्ज कार्यालयका कामु निर्देशक दण्डप्रसाद खरेलको सभापतित्व तथा बारागढीका अध्यक्ष देवदत बछार थारूको प्रमुख–अतिथ्यमा २८ फागुनमा सम्पन्न कार्यक्रममा गभर्नरको कार्यालयका उपनिर्देशक डा. भागवत आचार्यले सहभागीलाई अन्तरक्रियात्मक प्रशिक्षण दिए । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकलगायत स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र सर्वसाधारण गरी करिब १ सय २५ जनाको सहभागिता थियो ।

कार्यक्रमका विशिष्ट अतिथि उपनिर्देशक डा. आचार्यले बैंकिङ तथा वित्तीय प्रणाली, बैंकिङ बानीको विकास तथा विस्तार, वित्तीय चेतना, वित्तीय सुरक्षा, वित्तीय समावेशीकरण एवं वित्तीय सशक्तीकरणबारे सहभागीलाई जानकारी गराए । उनले बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य, अधिकार एवं बैंकिङ सेवाको सदुपयोग तथा दुरूपयोग गर्दा हुने परिणामबारे जानकारी दिए । वित्तीय साक्षरताका विभिन्न आयामबारे विस्तृत प्रस्तुति दिँदै उनले बचत गर्ने बानीको विकास र उपाय, बैकिङ सेवा, सफा नोटसम्बन्धी बानीको विकास, आधुनिक बैकिङ सेवालगायत विषयमा समेत सरल भाषामा विद्यार्थीलाई उद्बोधन गरेका थिए । साक्षात्कार कार्यक्रममा प्रश्नोत्तर शैलीमा अन्तरक्रिया सञ्चालन गरिएको थियो । प्रश्नको सही उत्तर दिने केही विजेता विद्यार्थीलाई उनले उपहारसमेत प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंंक, वीरगन्ज कार्यालयका सहायक निर्देशक अमिष शर्माले सक्कली र नक्कली नोट छुट्याउने सामान्य विधिबारे प्रयोगात्मक शिक्षण गरेका थिए । त्यस्तै, का.मु. सहायक निर्देशक दिनेशप्रसाद साहले वित्तीय साक्षरताबारे छलफल चलाए । प्रमुख–अतिथि थारूले कार्यक्रमबाट आफूले पनि धेरै कुरा जान्ने मौका पाएको बताए । उनले विद्यार्थीले कार्यक्रममा प्रस्तुत भएका कुरा पहिले आफू सिकेर आफ्नो घरगाउँ, टोल–छिमेकमा समेत सिकाउनु जरुरी भएको बताए ।

कार्यक्रमका सभापति का.मु. निर्देशक खरेलले बचत गर्ने बानीले अर्थतन्त्रमा ठूलो भूमिका निभाउने बताउँदै विद्यार्थी, शिक्षक, अतिथिलगायत सबैलाई सहभागिताका लागि धन्यवाद ज्ञापन गरे । कार्यक्रममा उपनिर्देशक डा. भागवत आचार्यले विद्यालयको पुस्तकालयका लागि वित्तीय साक्षरतासम्बन्धी केही पुस्तक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कामोदप्रसाद सहनी तथा सहायक प्रधानाध्यापक भूमि चौधरीलाई हस्तान्तरण गरे ।


 

Ad