Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति लघुवित्तको चौथो वार्षिक साधारणसभा : १५ प्रतिशत बोनस पारित

२०७७ फाल्गुन २८ गते

बैंकिङ खबर/  गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समिति अध्यक्ष युवराज भण्डारीले तनहुँको शुक्लागण्डकी–४, दुलेगौडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा शुक्रबार बिहान ११ बजे साधारणसभाको उद्घाटन गरे ।

साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकमबराबरको बोनस सेयर वितरण गर्नेलगायत प्रस्ताव सर्वसम्मतिले पारित गरेको लघुवित्तले जनाएको छ । यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । साधारणसभा प्रयोजनका लागि बैंकले २६ फेब्रुअरीमा बुकक्लोज गरेको थियो । त्यसैले २५ फेब्रुअरीसम्म कायम सेयरधनीले मात्र साधारणसभाले पारित गरेको बोनस पाउनेछन् । लघुवित्तले बोनसबापतको कर प्रयोजनका लागि चुक्तापुँजीको शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशसमेत सेयरधनीलाई दिएको छ ।

साधारणसभामा अध्यक्ष भण्डारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले पूर्वसञ्चालक दिनेशलाल श्रेष्ठलाई सञ्चालक समितिमा रहेर पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरे । श्रेष्ठले संस्था स्थापनाको पृष्ठभूमि र प्रगतिको अवस्थाबारे मन्तव्य राखे ।

हाल १८ जिल्लामा सेवा दिइरहेको गणपति लघुवित्तले २४ संसिर ०७३ देखि कारोबार प्रारम्भ गरेको हो । संस्थाले हाल ३६ वटा शाखामार्फत ग्रामीण क्षेत्रका २६ हजार ३ सय ४६ सदस्यलाई वित्तीय सेवा दिइरहेको छ । हालसम्म जम्मा ३९ करोड ३० लाख बचत संकलन गरी १ अर्ब ५६ करोड कर्जा लगानी गरेको लघुवित्तले जनाएको छ । चालू आर्थिक वर्षको अन्तसम्म ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य लघुवित्तले निर्धारण गरेको छ ।