Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

व्यापार घाटाप्रति राष्ट्रपतिको चिन्ता

२०७७ पुष १३ गते

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिड–१९ को प्रभावबाट बाहिर ल्याउन सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरुत्थान विशेष कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग महासंघका नवनिर्वाचित पदाधिकारीको भेटवार्ताका क्रममा अध्यक्ष गोल्छाले साना, मझौला व्यवसाय चल्न सके ठूला उद्योग स्वत: चल्न सक्ने भन्दै सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको प्रस्ट्याए । महासंघले ल्याउने भिजन पेपरमा पुनरुत्थानका लागि विशेष सुझाव समेटिने उनको भनाइ छ ।

लाखौं युवा बेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती बनेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक चार लाख युवाका लागि रोजगारी सिर्जना गर्ने अध्यक्ष गोल्छाले स्पष्ट पारे । दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले महासंघले विज्ञहरूसमेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसँग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपतिसमक्ष जानकारी गराए । गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा जोड दिए ।

भेटवार्तामा महासंघका पदाधिकारीले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्र कृषि, पर्यटन, पूर्वाधार निर्माण, ऊर्जालगायतका क्षेत्रसँग जोडिएका राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न पहल हुनुपर्ने बताए । राष्ट्रपति भण्डारीले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाइन् । ‘हामी पर्याप्त सम्भावना भएर पनि पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं,’ उनले भनिन्, ‘बजारका लागि कुनै समस्या छैन । तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरूकै भर पर्नुपर्ने परिस्थिति छ ।’ रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा गम्भीर भएर लाग्न उनले सुझाइन् ।

चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरिन् । ‘हर कुरामा हामी बाह्य देशसँग निर्भर रहनुपर्ने अवस्था छ, यो अवस्थालाई कसरी ब्रेक गरी आफ्ना लागि आवश्यक वस्तु आफैं उत्पादन गर्न सक्छौं,’ उनले भनिन्, ‘त्यसमा सिंगो मुलुक नै गम्भीर हुन जरुरी छ ।’

 

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।
Ad