प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण ओरालो लागेको सेयर बजार पुनः लयमा फर्कन थालेको छ। अस्थिर राजनीतिका कारण उच्च गिरावट आएको सेयर बजारको मापक नेप्से मंगलबार ९५.४६ बिन्दुले बढेको छ। प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुअघि सेयर कारोबार वृद्धिउन्मुख थियो। एकाएक राजनीतिमा उतारचढाव आए पनि विभिन्न कम्पनीले धमाधम लाभांश वितरण गर्ने क्रम जारी राखेपछि पुँजीबजारमा हरियाली छाएको लगानीकर्ताको भनाइ छ।
सोमबार नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। हालसम्म २५ वटा वाणिज्य बैंकले घोषणा गरेको लाभांशमध्ये नबिलको सबभन्दा धेरै हो। मंगलबार ९५.४६ बिन्दुले बढ्दा नेप्से २०६१.४१ मा पुगेको छ। यसअघि मंसिर ३० मा नेप्से परिसूचक २०६१.४१ मा पुगेको थियो।
लगानीकर्ताले राजनीति र आर्थिक क्रियाकलाप फरकफरक पाटो भएको कुरा बुझ्दै गएपछि सेयर कारोबार पुनः बढेको बताइएको छ। त्यस्तै, सेयर बजार सुधारका लागि धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने तयारी गरेपछि लगानीकर्ता उत्साहित छन्। लगानीकर्ताले लामो समयदेखि ब्रोकर कमिसन घटाउनुपर्ने माग राख्दै आएका छन्।
केही दिनअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित निकायका पदाधिकारी बोलाएर चाँडो ब्रोकर कमिसन घटाउन निर्देशन दिएका थिए। त्यस्तै, लगानीकर्ताले बैंकलाई सेयर कारोबारको अनुमति दिन माग गर्दै आएका छन्। उक्त माग पनि चाँडै पूरा हुने लगानीकर्ताको अपेक्षा छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बैंकले सेयर कारोबार गर्ने अनुमति पाउनेबित्तकै दुर्गम भेकका लगानीकर्तालाई पनि सेयर बजारमा प्रवेश गर्न सहज हुने बताउँछन्। हाल ५० वटा ब्रोकरले मात्र सेयर खरिदबिक्री गर्न पाउँछन्। मंगलबार नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.१८ बिन्दुले बढेको छ। यस दिन कारोबार रकम पनि पौने सात अर्ब रूपैयाँ नजिक पुगेको छ। ५५ हजार सात सय एक करोबारबाट दुई सय पाँच कम्पनीका एक करोड २७ लाख १७ हजार एक सय ४६ कित्ता सेयर किनबेच भए।
धेरै कमाउने पाँच कम्पनी
यस दिन सबैभन्दा धेरै कमाउनेमा शिखर इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ। शिखरको सेयर मूल्य एकै दिन १० प्रतिशतले बढ्दा सर्किट ब्रेक लाग्यो। १० प्रतिशत अर्थात एक सय ६६ रूपैयाँले बढेर शिखरको सेयर मूल्य एक हजार आठ सय २६ रूपैयाँ पुग्यो।
राष्ट्रिय बिमा कम्पनी धेरै कमाउनेमा दोस्रो नम्बरमा दरिन पुग्यो। यसको मूल्य एक कित्तामै एक हजार तीन सय २६ रूपैयाँले बढेर १४ हजार पाँच सय ९१ रूपैयाँ कायम भयो। धेरै कमाउने अन्य कम्पनीमा क्रमशः नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र सान्जेन जलविद्यत् कम्पनी छन्।
नबिलको एक सय २३, नेपाल लाइफको दुई सय १३ तथा सान्जेनको सेयर मूल्य २५ रूपैयाँले बढ्यो। कारोबार रकमका आधारमा नेपाल लाइफ पहिलो नम्बरमा आयो। यसको ८६ करोडभन्दा धेरैको सेयर किनबेच भयो।
नागरिक दैनिकमा प्रकाशित समाचार ।