
सरकारले ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाए पनि वित्तीय प्रणालीमा रहेको अधिक तरलता अपेक्षित रूपमा घट्न सकेको छैन । गत आइतबारसम्म वित्तीय प्रणालीमा करिब १ खर्ब ८० अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
यो बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । माग आएमा सो रकम बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सक्छन् ।
पछिल्ला केही महिनायता वित्तीय प्रणालीमा २ खर्ब रुपैयाँभन्दा धेरै अधिक तरलता रहँदै आएको थियो । बैंक तथा वित्तीय संस्थामा नयाँ कर्जाको माग आउन थालेको, आन्तरिक ऋण उठाउन सुरु भएकोलगायत कारण अधिक तरलतामा कमी आए पनि अझै प्रभावकारी रूपमा व्यवस्थापन हुन सकेको छैन ।
गत भदौदेखि बढ्न थालेको कर्जा माग असोज र कात्तिकमा उल्लेख्य रूपमा बढेको छ । राष्ट्र बैंकका अनुसार गत साउनदेखि कात्तिक २३ सम्म करिब १ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यसअनुसार गत साउन १ मा ३२ खर्ब ४६ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह गत आइतबारसम्म ३४ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो चार महिनामा करिब १ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत साउनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ३९ खर्ब १८ अर्ब रुपैयाँ थियो, यो गत आइतबारसम्म ४१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको अपरिष्कृत तथ्यांक छ ।
लकडाउनका कारण आर्थिक वर्षको सुरुका महिनामा कर्जा प्रवाह ठप्प जस्तै भए पनि असोज र कात्तिकमा कर्जा माग राम्रो भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘यो अवधिमा सरकारी खर्ब पनि बढ्यो, रेमिट्यान्स आप्रवाह पनि गत वर्षकै हाराहारीमा छ,’ उनले भने, ‘यसकारण अपेक्षित रूपमा अधिक तरलतामा कमी आएन ।’ महालेखाको तथ्यांक अनुसार गत सोमबारसम्म कुल सरकारी खर्ब २ खर्ब ४८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत कात्तिक १ मा यस्तो खर्ब १ खर्ब १ अर्ब रुपैयाँ थियो । गत भदौमा यस्तो खर्ब ६८ अर्ब ५७ करोड रुपैयाँ मात्र थियो । कात्तिकमा शिक्षक कर्मचारीलाई तलबभत्ताबापतको पैसा भुक्तानी भएको, स्वास्थ्योपचार सामग्री खरिदलगायतमा करिब ४८ अर्ब रुपैयाँ खर्च भएको बताइएको छ ।
गत असोज र कात्तिकमा गत वर्षको हाराहारीमा कर्जा प्रवाह भए पनि लकडाउनका कारण चैतदेखि असारसम्म कर्जा प्रवाह नभएकाले अहिले पनि प्रणालीमा अधिक तरलता कायमै रहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । ‘एक/दुई महिनायता कर्जाको माग राम्रो छ,’ उनले भने, ‘अधिक तरलताका कारण ब्याजदर पनि घटेका छन् ।’ गत असारदेखि चैतसम्म कर्जा प्रवाह भएन । सो अवधिमा निक्षेप संकलन भने बढ्यो । अहिले कर्जा प्रवाह भइरहे पनि पुरानै निक्षेप बाँकी रहेकाले वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेको उनले बताए ।
पैसा धेरै भएपछि बैंकहरूले सस्तो ब्याजदरका कर्जा प्रवाह गर्न थालेका छन् । यसका लागि बैंकहरूले नयाँ नयाँ प्रोडक्ट बजारमा ल्याएका छन् । कसैले आधार दरभन्दा कममा कर्जा दिन थालेका छन् । यो राष्ट्र बैंकको निर्देशनविपरीत हो । यसकारण आधार दरभन्दा कममा कर्जा प्रवाह गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने अध्यक्ष दाहालको भनाइ छ । ‘यसकारण पनि बैंकहरूले आधार दरभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरेका छैनन् होला,’ उनले भने, ‘अधिक तरलताका कारण ब्याजदरको प्रतिस्पर्धा भने बढेको छ ।’ अर्थतन्त्रले विस्तारै गति लिन थालेकाले अब कर्जा प्रवाहमा तीव्रता आउने दाहालको अनुमान छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।