
विदेशबाट अवैध रूपले भन्सार छलेर सामान ल्याउने र त्यसको भुक्तानीका लागि पुनः अवैध तरिकाले अर्बौं रुपियाँ विदेश पठाउने एक व्यापारीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध एक अर्ब ७१ करोड ५६ लाख रुपियाँको बिगो कायम गरेर मुद्दा दायर गरिएको जनाएको छ । विभागले श्रेष्ठबाट बिगोको तेब्बरसम्म असुलउपर र तीन वर्ष कैद गर्ने माग गर्दै बिहीबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
श्रेष्ठले भन्सार छली गरेर सामान ल्याउने, यथार्थ कारोबार नदेखाउने र त्यस्ता सामानको भुक्तानी गर्न बैङ्कको स्वीकृति नलिई रकम विदेश पठाउने गरेको विभागको अनुसन्धानमा खुलेको थियो । उनीविरुद्ध विदेशी विनिमय नियमित गर्ने ऐनको प्रावधानअनुरूप पाँच अर्ब १४ करोड रुपियाँ असुल गर्नुपर्ने र तीन वर्ष कैद गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ । यसैगरी विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर भ्याट बिलबिजक प्रयोग गरेर राजस्व छलेको अभियोगमा ललितपुरस्थित मनिस ट्रेडिङ कन्सर्नका किशोरी यादवसहित तीन जनाविरुद्ध पनि मुद्दा दायर गरेको हो ।
गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।