Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बजार पुँजीकरण २१ खर्ब १८ अर्ब पुग्यो

२०७७ आश्विन २४ गते

सातामा १४ अर्बको कारोबार

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १४ अर्ब बढीको कारोबार भएको छ । परिसूचकमा खासै उत्साह नदेखिएको बजारमा अल्पकालीन लगानीकर्ता सक्रिय हुँदा बजार पँुजीकरण भने २५ अर्बले बढेको देखिन्छ ।

यस साता २ सय ५ कम्पनीको १४ अर्ब ६४ करोड ७३ लाख ८९ हजार ४ सय ५ रुपैयाँबराबरको ५ करोड ४४ लाख १८ हजार ६ सय ३ कित्ता सेयर कारोबार भएको छ । गत साताको अन्तिम दिन २० खर्ब ९३ अर्ब रहेको बजार पुँजीकरण २५ अर्बले बढेर २१ खर्ब १८ अर्ब ८० करोड पुगेको छ । गत साता २ सय १ कम्पनीको ११ अर्ब ४१ करोड ९६ लाख १५ हजार ६ सय ८८ रुपैयाँबराबरको ५ करोड २२ लाख २५ हजार ३ सय ३३ कित्ता सेयर कारोबार भएको थियो ।

यस साता सेयर बजारमा हाइड्रोपावरका सेयरमा लगानीकर्ताको बढेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । यद्यपि अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा साताको अन्तिम दिन बिहीबार केही दबाबमा परेको थियो । जलविद्युत्मा ब्याजदर घटेको र यसको प्रत्यक्ष प्रभाव आम्दानीमा पर्ने भएपछि लगानीकर्ताले उचित प्रतिफलको अपेक्षा गर्दै यसतर्फ लगानी बढाएको अर्यालले बताए । पछिल्लो बजार प्रवृत्ति हेर्दा बीचबीचमा सानातिना करेक्सन आउने गरेको देखिन्छ । एक÷दुई दिन करेक्सनपछि फेरि बजारले नयाँ रफ्तार तय गर्ने गरेको छ ।

बजार बढ्ने वा घट्ने यसको प्रवृति हो । तथापि, बजारको गति र प्रवृत्तिबारे ठोकुवा गर्न नसकिने भएकाले लगानीकर्ताले चनाखो भएर अध्ययन गर्न आवश्यक हुन्छ । सूचक सामान्य दबाबमा परे पनि खरिदबिक्री माहोल राम्रो छ । लगानीकर्ताले कम्पनीको वित्तीय सूचकमा सूक्ष्म अध्ययन गर्न बिर्सिनुहुँदैन । लाभांश क्षमता, संस्थागत सुशासन भएका कम्पनीतर्फ लगानी केन्द्रित गर्न सके जोखिम कम गर्न सहयोग पुग्ने हुन्छ । प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, लाभांश क्षमता, संस्थापकलगायतका पक्षमा पनि ध्यान दिँदै अघि बढ्नुपर्ने हुन्छ ।

साताभर नेप्से सूचक तीन दिन बजार बढेको छ भने दुई दिन मात्रै घटेको छ । साताको पहिलो दिन आइतबार १४ दशमलव ७१ अंकले नेप्से बढेर १ हजार ५ सय ८५ दशमलव ७६ को बिन्दुमा पुगेको थियो । सोमबार ३ दशमलव ६३ अंकले सूचक घटेको थियो । फेरि मंगलबार र बुधबार नेप्से सूचक क्रमशः ४ दशमलव १७ अंकले र १४ दशमलव ६८ अंकले बजार बढेको थियो । साताको अन्तिम दिन बिहीबार भने बजार ११ दशमलव ३४ अंकले घटेर १ हजार ५ सय ८९ दशमलव ६४ को बिन्दुमा पुगेको छ । अर्थात् गत साताको तुलनामा नेप्से सूचक १८ दशमलव ६ अंकले बढेको छ ।

यस साता कारोबारमा आएका ६ वटा उपसमूह बढ्दा ६ वटा उपसमूह घटेको छन् । साताको पहिलो दिनको तुलनामा सबैभन्दा बढी जलविद्युत् १ सय २५ दशमलव १७ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ८८ दशमलव ५७ अंकले, वित्त समूह ५६ दशमलव ५८ अंकले, होटेल २५ दशमलव ६३ अंकले, अन्य समूह २ दशमलव ४७ अंकले र म्युचुअल फन्ड शून्य १३ अंकले बढेका छन् । घट्नेमा सबैभन्दा बढी निर्जीवन बिमा १७० दशमलव ४३ अंकले घटेको छ । भने, जीवन बिमा ११३ दशमलव ६३ अंकले, उत्पादन तथा प्रशोधन ६२ दशमलव ९४ अंकले, लद्युवित्त १९ दशमलव ४५ अंकले, बैंकिङ ७ दशमलव ५३ अंकले र व्यापार ४ दशमलव ५ अंकले घटेका छन् ।

यस साता कारोबारमा आएका कम्पनीहरूमा सबैभन्दा बढी कारोबार अरुन काबेली पावर कम्पनीको भएको छ । यसको ५८ करोड ६४ लाख बढीको कारोबार भएको हो । त्यस्तै, शिभंम सिमेन्टको ५७ करोड ६६ लाख बढीको, नेपाल रिइन्स्योरेन्स कम्पनीको ५५ करोड २० लाख बढीको कारोबार भएको छ, भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ४३ करोड बढीको कारोबार भएको छ । स्वाभिमान लघुवित्त वित्तिय संस्थाको १ लाख ४८ हजार ४ सय ६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नियमित कारोबारका लागि नेप्सेको कारोबार पाँच दिन खुला रहेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक साताको पहिलो दिनको तुलनामा ४ दशमलव ५९ अंकले बढेर ३ सय १४ दशमलव ७५ को बिन्दुमा आइपुगेको छ ।

राजधानी दैनिकमा प्रकाशित समाचार ।

Ad