यो साताको कारोबारमा नेप्से परिसूचक ९ दशमलव ७७ अंक बढेको छ । पाँच ओटा कारोबार दिनमा शुरुको दिन र अन्तिम दिन बढेको बजार १ हजार ५७१ दशमलव शून्य ४ विन्दुमा पुगेको हो ।
गत साताको अन्तिम कारोबार दिन बजार १ हजार ५६१ दशमलव २७ विन्दुमा थियो । यो साता पहिलो दिन ४ दशमलव २९ अंकले र अन्तिम दिन २० दशमलव ६१ अंकले बजार बढेको हो । सोमवारदेखि लगातार बुधवारसम्म घटेको बजार सोमवार ४ दशमलव ७३ अंक, मंगलवार ७ दशमलव २१ अंक र बुधवार ३ दशमलव १९ अंक घटेको थियो ।
कोरोना महामारी बढ्ने क्रम जारी रहे पनि देशभरको जनजीवन भने व्यवसायिक रुपमा सामान्य बन्दै गएको छ । देशमा लकडाउन र निषेधाज्ञाका कारण शेयर बजार र बैंक वित्तीय संस्था बाहेकका अन्य क्षेत्र भने ठप्प रहेको अवस्था थियो ।
त्यो अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट कम व्याजदरमा सहज तरिकाले शेयर बजारमा लगानी भित्रिरहेको थियो । यो समयमा अन्य व्यवसायिक क्षेत्रका लगानी पनि भित्रिएको थियो ।
अवस्था सामान्य बन्दै जाँदा अन्य क्षेत्रका व्यवसायीले नाफा सुरक्षित गरी आफ्नो लगानी फिर्ता लग्ने क्रम जारी रहेकाले बजारमा केहि असर परेको जानकारहरुको भनाइ छ । यद्यपी यतिवेला बजार घट्ने समय नरहेको उनीहरुको बुझाइ छ । अहिले आफ्नो लगानीको प्रतिफल सुरक्षित गर्ने समय रहेकाले बजारमा माग बढी सिर्जना हुने हुदाँ बढ्ने सम्भावना रहेको लगानीकर्ताहरुकोनै विश्लेषण छ ।
यो साता परिसूचकसँगै सेन्सेटिभ इन्डेक्समा पनि न्यून अंकको बृद्धि देखिएको छ । ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स गत साताभन्दा यो साता शून्य दशमलव ५८ अंक माथि उक्लिएको छ ।
गत साताको अन्तिम कारोबार दिन असोज ८ गते बिहीवार ३०९ दशमलव ५७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन असोज १५ गते बिहीवार ३१० दशमलव १५ विन्दुमा पुगेको हो ।
यो साता बजारमा रू. ११ अर्ब ४१ करोड ९६ लाख १५ हजार बराबरको शेयर कारोबार भएको छ । यो रकम गत साताको कारोबारमा रू. १२ अर्ब १५ करोड ४३ लाख ३७ हजार थियो । गत साताभन्दा यो साता रू. ७३ करोड ४७ लाख २२ हजार कम रकमको कारोबार भएको हो ।
यो साता पहिलो कारोबार दिन रू. ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार बराबरको उच्च रकमको कारोबार भएको थियो । अन्तिम कारोबार दिन पनि रू. २ अर्ब ८० करोड ७७ लाख ८ हजार बराबरको कारोबार भएको छ । बजार घटेको तीन दिन भने करीब रू.२ अर्बको हाराहारीमा शेयर कारोबार भएको छ ।
कारोबार रकममा कमि आएको यो साता कारोबार शेयर कित्ता भने १ करोड १७ लाख ४५ हजार कित्ता बढी कारोबार भएको छ । गत साता ४ करोड ४ लाख ७९ हजार कित्ता शेयर कारोबार भएकोमा यो साता ५ करोड २२ लाख २५ हजार कित्ता शेयर खरीदविक्री भएको छ ।
लगानीकर्ताहरुको सम्पत्ति पनि यो साता रू. १३ अर्ब २ करोड १० लाखले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. २० खर्ब ८० अर्ब १२ करोड ८० लाख रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. २० खर्ब ९३ अर्ब १४ करोड ९० लाख पुगेको हो ।
साताको कारोबारमा देखिएको परिवर्तनको अवस्था :

स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरु :

स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
यो साता सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीहरुमध्ये धेरै जसो जलविद्युत् कम्पनी रहेका छन् । पहिलो नम्बरमा भने सोल्टी होटलकोे सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।
उक्त कम्पनीको यो साता रू. ५० करोड २० लाख बराबरको शेयर कारोबार भएको छ । यो साता पाँच ओटा जलविद्युत् कम्पनीहरु नेशनल हाइड्रोपावर, अपि पावर, अरुणभ्याली हाइड्रो, अरुण कावेली पावर र हिमाल दोलखा हाइड्रो सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीभित्र परेका छन् ।
पाँच ओटा जलविद्युत् कम्पनीहरुमध्ये हिमाल दोलखाको सर्वाधिक रकम रू. ४७ करोड २० लाख बराबरको शेयर कारोबार भएको छ । यो साता कुमारी बैंक, नेपाल बैक, शिखर इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी पनि सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीभित्र परेका छन् ।
सर्वाधिक बजार पूँजीकरण भएका १० ओटा कम्पनीहरु :

स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
यस साता पनि सर्वाधिक बजार पूँजीकरण हुने कम्पनीको पहिलो स्थान नेपाल दुरसञ्चार कम्पनीलेनै लिएको छ । उक्त कम्पनीको शेयरको कुल मूल्य अर्थात् कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिनसम्म रू. १ खर्ब ५ अर्ब १५ करोड रहेको छ ।
गत साताको तुलनामा भने उक्त कम्पनीको कुल बजार पूँजीकरण रकममा कमि आएको हो । गत साताको अन्तिम कारोबार दिनसम्म कम्पनीको कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ६ अर्ब ५० करोड रहेको थियो ।
सर्वाधिक कुल बजार पूँजीकरणको दोस्रा स्थानमा रहेको नबिल बैंकको कुल बजार पूँजीकरण रकम पनि गत साताभन्दा यो साता कम भएको छ । गत साता रू. ८८ अर्ब २४ करोड ७० लाख रहेको उक्त कम्पनीको कुल बजार पूँजीकरण यो साता रू. ८७ अर्ब ४४ करोडमा झरेको छ ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।