कोरोनाको महामारीमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित सबै विकास परियोजना सुरक्षित सञ्चालन भइरहेका छन्। कोभिडको जोखिम व्यवस्थापनका लागि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडि बढाइएको एडीबीले जनाएको छ।
बैंकले शतप्रतिशत लगानी रहेका विकास परियोजनामा एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाइएको जनाएको छ। एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको एडीबीको दाबी छ।
अन्य स्रोतबाट सञ्चालित अधिकांश विकास परियोजना प्रभावित छन्। एडीबीले मे महिनादेखि एसओपी अपनाएर आयोजना कार्यान्वयन गर्न निकायलाई परिपत्र गरेको थियो। मार्चमा लकडाउन सुरु भएपछि कोभिडका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाइएको बैंकले जनाएको छ।
एडिबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले कार्यस्थलको व्यवस्थापन र कर्मचारीको स्वास्थ्यलाई ध्यान दिइएको बताए।
त्यसैगरी निर्माण कार्य सञ्चालन गर्दा अपनाइने कार्यविधिमा कामदारको व्यवस्थापन, प्रवेशद्वारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलीकरण, सामान लोड–अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदार बस्ने शिविरको उचित व्यवस्थापन गरिएको सिंहले बताए।
एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटमा कामदारको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए।। एडीबीसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको वेभिनारमा उनले बैंकले तयार पारेको एसओपी आयोजनामा लागू भइरहेको बताए। यसले निर्माण क्षेत्रमा कोभिड १९ को जोखिम कम गराउन र कर्मचारीमा संक्रमण फैलिन नदिएको उनले बताए।
पुर्व अर्थसचिव सुमन शर्माले एडीबीले बनाएजस्तै एसओपी सबै क्षेत्रमा अपनाउन आवश्यक भएको बताए। कार्यक्रममा वरिष्ठ वातावरण अधिकृत सिंहसहित एडीबीका सामाजिक विकास अधिकृत लक्ष्मीप्रसाद सुवेदी, बैंकको सेफगार्ड युनिट प्रमुख लक्ष्मी पन्तले परियोजनामा एसओपी कसरी कार्यान्वयनमा रहेको र त्यसको सफलताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।