Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दुई महिनामा अनलाइनमार्फत ४० हजार सेयर लगानीकर्ता थपिए

२०७७ भाद्र १४ गते

पुँजी बजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् ।

 
 कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनयता सेयर बजार (दोस्रो बजार) मा अनलाइन काराेबारका लागि करिब ४० हजार लगानीकर्ता थपिएका छन् । लकडाउनले सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेकोलगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने संख्या बढेको हो ।

गत सातादेखि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा गरेको छ । यस अवधिमा सेयर बजार खुला छ । त्यसअघिको लकडाउनका बेला भने सेयर बजार बन्द थियो । नेप्सेको तथ्यांकअनुसार गत बिहीबारसम्म ६४ हजार ६ सय १६ जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो सख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो पाँच महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १ सय ५० प्रतिशतले बढेको देखाउँछ ।

सरकारले लकडाउन सुरु गरेपछिका पाँच महिनामध्ये करिब ३ महिना बजार बन्द नै रह्यो । त्यस अवधिमा ‘युजर नेम र पासवर्ड’ लिने/वितरण गर्ने काम पनि भएन । यसकारण अनलाइन कारोबारका लागि अहिले बजारमा थपिएका करिब ४० हजार लगानीकर्ताले दुई महिनाभित्रै ‘युजर नेम र पासवर्ड’ लिएका हुन् । ‘लकडाउनले हिँडडुलमा अवरोध र जोखिम भएपछि अनलाइन कारोबार गर्ने बढे,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘तुलनात्मक रूपमा अनलाइन कारोबार सजिलो र झन्झटरहित पनि छ ।’ लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र सञ्चालन हुन नसकेकाले धेरै उद्योगी व्यवसायीले पनि सेयर बजारमा लगानी बढाएको उनले बताए । ‘यो अवधिमा धेरै उद्योगी व्यवसायीले लगइन लिनुभएको छ,’ उनले भने, ‘अन्य क्षेत्र बन्द भएपछि उनीहरू यता आएको हुनुपर्छ ।’

पुँजीबजारको इतिहासमा करिब साढे २ दशकपछि नेप्सेले ०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि झन्डै दुई वर्ष पुगिसकेको छ । अनलाइन कारोबार सुरु हुँदाताका लगइन लिने लगानीकर्ता संख्या न्यून थियो । गत चैत ६ गतेसम्म लगइन लिएको संख्या २६ हजार ६ सय मात्र थियो ।

अनलाइन कारोबार सबैका लागि नयाँ भएको, नेप्सेको कारोबार प्रणालीमा पटक–पटक समस्या देखिएको, लगानीकर्ता प्रविधिमा बानी नपरेको लगायत कारण सुरुमा थोरैले मात्र लगइन लिएको एक धितोपत्र ब्रोकरले बताए । ‘पहिले त नेप्सेको कारोबार प्रणालीले कामै गर्न नसक्ने जस्तै अवस्था थियो,’ उनले भने, ‘अहिले बल्ल ट्र्याकमा आएको छ ।’

खासगरी लकडाउनपछि अनलाइन कारोबारका लागि लगानीकर्ता बढेको उनले बताए । ‘जान्ने हो भने अनलाइन कारोबार धेरै सजिलो छ, आफू रहेकै स्थानबाट चाहेको कम्पनीको सेयर किनबेच गर्न सकिन्छ,’ उनले भने, ‘अनलाइन कारोबारका लागि लगइन लिनेमा सरकारी तथा निजी क्षेत्रका कर्मचारी, शिक्षक, चार्टर्ड एकाउन्टेन्टलगायत वाणिज्य तथा व्यावसायिक क्षेत्रका धेरै छन् ।’

पुँजी बजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् । तर, दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ता ३ लाखभन्दा कम नै रहेको नेप्सेको तथ्यांक छ । नेप्सेका अनुसार गत बिहीबारसम्म दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ताको संख्या करिब २ लाख ८८ हजार छ । गत चैत ६ मा यस्तो संख्या २ लाख ३१ हजार थियो । यो नियामक निकायको निर्देशनअनुसार हरेक वर्ष ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गरेको लगानीकर्ता संख्या हो । तीमध्ये पनि दैनिक रूपमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या कम छ । ‘आर्थिक वर्ष ०७६/७७ मा सक्रिय लगानीकर्ता संख्या करिब ४३ हजार मात्र थियो,’ साउदले भने ।

पछिल्लो समय नेप्सेले धितोपत्र ब्रोकरहरूलाई अनलाइनमार्फत (कनेक्ट आईपीएस) भुक्तानी गर्न भनेको छ । ब्रोकरहरूले पनि सेयर खरिदमा भुक्तानी गर्दा अनिवार्य रूपमा विद्युतीय माध्यम (कनेक्ट आईपीएस) बाट गर्न उसको आग्रह छ । राष्ट्र बैंकले पनि सेयर कारोबारका लागि कनेक्ट आईपीएसमा दैनिक र मासिक कारोबारको सीमा नलाग्ने नीतिगत व्यवस्था गरेको छ । उल्लिखित व्यवस्थाले सेयर कारोबारमा विद्युतीय माध्यमको भुक्तानी बढेको बताइएको छ ।

लकडाउनयता नेप्सेको कारोबार सिस्टममा (टीएमएस) मार्फत करिब ५ अर्ब २९ करोड रुपैयाँ अनलाइन भुक्तानी भइसकेको नेप्से वरिष्ठ प्रबन्धक निरन्जन फुयालले बताए । यो टीएमएसमार्फत नेपाल क्लियरिङ हाउस, प्रभु बैंक र ग्लोबल आईएमई बैंकमार्फत भएको भुक्तानी हो । ‘यस्तो कारोबार बढ्दो छ,’ उनले भने, ‘टीएमएसभन्दा बाहिर ब्रोकर र लगानीकर्ताले पनि कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दै आएका छन् ।’ त्यसलाई पनि जोड्दा विद्युतीय माध्यमबाट भएको कारोबारबापतको रकम भुक्तानी धेरै हुने उनले बताए ।

यही क्रममा नेप्सेले अनलाइनबाट केवाईसी अद्यावधिक गर्न, अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिन सुविधा दिएको छ । ‘लगानीकर्ताले अनलाइन कारोबार गर्न युजरनेम र पासवर्ड लिने तथा केवाईसीलाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरूको टीएमएस लिंकमा अनलाइन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको छ ,’ नेप्सेले विज्ञप्तिमा भनेको छ । यसबाट बढीभन्दा बढी प्रयोगकर्ता अनलाइन कारोबारमा सहभागी हुन सक्ने नेप्सेले दाबी गरेको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

 

 

Ad