Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२ अर्ब ६५ करोडको सेयर कारोबार

२०७७ भाद्र ११ गते

बुधबार सेयर बजारमा २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । करिब साढे ३४ हजार कारोबारबाट १ सय ८६ कम्पनीका ५८ लाख ८२ हजार कित्ता सेयर किनबेच भए ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक र कारोबार रकम दुवै बढी हो । मंगलबार बजारमा १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । यो साता सबै दिन नेप्से परिसूचक उकालो लागेको छ ।

सोही क्रममा बुधबार नेप्से परिसूचक २१.१० अंकले बढेर १ हजार ४ सय ६२.०३ बिन्दुमा उक्लिएको छ । अघिल्लो दिनको तुलनामा यो १.४६ प्रतिशत बढी हो । कोभिड–१९ को जोखिम उच्च बन्दै गएपछि हाल स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण अत्यावश्यकबाहेक सबै गतिविधि ठप्प छन् । अत्यावश्यक सेवामा पर्ने भन्दै सेयर बजार भने खुला गरिएको छ । हाल अनलाइनबाट मात्र सेयर कारोबार गर्न पाइन्छ । यस्तो अवस्थामा पनि सेयर कारोबार निरन्तर रूपमा उकालो लाग्नु सकारात्मक संकेत भएको जानकार बताउँछन् । नेप्सेले पनि अहिले करिब ९० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट हुँदै आएको जनाएको छ ।

बुधबार व्यापार र जीवन बिमाबाहेक सबै समूहका परिसूचक बढेका छन् । तीमध्ये बैंकिङ, विकास बैंक, जलविद्युत्, लघुवित्त र सामूहिक लगानी कोष उपसमूहका परिसूचक एक प्रतिशतभन्दा धेरैले बढेका छन् । नेप्से परिसूचक बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि १९ खर्ब २९ अर्ब रुपैयाँ कायम भएको छ ।

यही क्रममा नेप्सेले अनलाइनबाट ग्राहक परिचयपत्र (केवाईसी) अद्यावधिक गर्न, अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिन सुविधा दिएको छ । ‘कोभिड–१९ महामारीलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी दोस्रो बजार कारोबार गर्न/गराउन नेप्सेले अनलाइन कारोबारलाई थप सहज बनाउने तथा नेप्से तथा सदस्य दलाल व्यवसायीलाई प्रदान गर्दै आइरहेको छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही क्रममा लगानीकर्ताले अनलाइन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिने तथा ग्राहक पहिचान विवरण (केवाईसी) लाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरूको टीएमएस लिंकमा अनलाइन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको छ ।’

उक्त लिंकमा गई रजिस्टर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्नो विवरण भरेर युजरनेम तथा पासवर्ड लिन तथा केवाईसी अद्यावधिक गर्न/गराउन नेप्सेले सबैलाई आग्रह गरेको छ । यसबाट बढीभन्दा बढी प्रयोगकर्ता अनलाइन कारोबारमा सहभागी हुन सक्ने नेप्सेको अपेक्षा छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

Ad