सनराइज बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीचको विवाद हालका लागि टुंगिएको छ । बैंकका सञ्चालकहरूले प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालसँग स्पष्टीकरण पत्र पठाउँदै राजीनामा मागेपछि चुलिएको विवाद बिहीवार दुवै पक्षबीच समझदारीमा अघि बढ्ने सहमतिसँगै समाधान भएको हो ।
बिहीवार बसेको बैंकको सञ्चालक समितिको बैठकले मिलेर अघि बढ्ने द्विपक्षीय समझदारी गरेको छ । बैंकका कम्पनी सचिव ईश्वर पाठकका अनुसार सञ्चालक समितिले सबै पक्ष मिलेर संस्थाको हितमा निर्णय गरिएको बताए । ‘सबै जना मिलेर जान निकास निकालिएको हो । समितिले सीईओको राजीनामाभन्दा पनि स्पष्टीकरण मागेको थियो,’ उनले अभियानलाई बताए, ‘एकबद्ध भई बैंकलाई अग्रस्थानमा लैजानेगरी काम गर्न सहमति भएको हो ।’ यसअघि सञ्चालक समिति र सीईओबीचको विवाद चर्किएपछि नेपाल राष्ट्र बैंकले सञ्चालकहरूलाई छलफलमा बोलाएको थियो । राष्ट्र बैंकले सञ्चालकहरूलाई आपसी समझदारीमा समस्या सल्टाउन सुझाव दिएको थियो । विवाद चर्किंदै गए भोलिका दिनमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने डरले पनि बैंक सञ्चालकहरूले हालका लागि सहमतिमा जाने निर्णय गरेको स्रोतले बतायो ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।