सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिबीच बढेको विवादबारे नेपाल राष्ट्र बैंकले आइतवार बैंक सञ्चालक समितिसँग छलफल गरेको छ । सञ्चालक समितिले बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको राजीनामा माग गरेको विवाद बाहिर आएपछि राष्ट्र बैंकले दुवै पक्षलाई बोलाएको हो ।
केन्द्रीय बैंकले सञ्चालक समितिसँग मात्रै छलफल ग¥यो । छलफलमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षत्री तथा बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, निर्देशकहरू बछराज तातेड, मालचन्द दुगड, शैलेन्द्र गुरागाईं, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी सहभागी थिए ।
छलफलमा राष्ट्र बैंकका अधिकारीहरूले सञ्चालक समितिसँग पछिल्लो विवादको कारण सोधेका थिए । यद्यपि छलफलमा के भयो भन्नेबारेमा कार्यकारी निर्देशक ढकालले विस्तृतमा बताउन चाहेनन् । सञ्चालकहरूसँग हुने छलफल राष्ट्र बैंकको सामान्य नियमित प्रक्रिया भएको उनको प्रतिक्रिया थियो । ‘सनराइज बैंक समितिले सीईओको राजीनामा मागेको विषयमा मिडियाबाजी भएर छताछुल्ल भएकाले छलफल गरेका हौं । छलफलमा सञ्चालकहरूबाट खास कुरो के हो भन्ने सुन्यौं,’ उनले भने ।
आधा घण्टासम्म चलेको छलफलमा सनराइज बैंकका सञ्चालकहरूले प्रमुख कार्यकारी अधिकृतको काम चित्त नबुझेको राष्ट्र बैंकलाई बताएका थिए । ‘हामीले आफ्ना कुरा राख्यौं । राष्ट्र बैंकका अधिकारीले सुने तर कुनै सुझाव दिइएको छैन । हामीले राष्ट्र बैंकको सुझाव पर्खेका छौं,’ छलफलमा सहभागी बैंकका एक निर्देशकले अभियानलाई भने ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्याल छलफलमा आफूलाई नबोलाइएको बताउँछन् । उनले आफूले राजीनामा नदिने अडान समेत दोहोर्याए । ‘आधिकारिक रूपमा राजीनामा मागिएको छैन र म दिँदा पनि दिन्नँ । मैले काम थालेको १ वर्ष भयो । ४ वर्षे कार्यावधिमा अझै ३ वर्ष बाँकी छ,’ उनले भने ।
यसअघि बैंक सञ्चालक समितिको बिहीवारको बैठकले पौड्यालको कामकारबाही चित्त नबुझेको भन्दै राजीनामा माग्ने निर्णय गरेको समाचार बाहिर आएको थियो ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।