नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको निर्देशिका कार्यान्वयन नहुँदा उपभोक्ताले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा प्रतिमिनेट ४४ पैसा बढी तिरिरहनुपरेको छ । गत पुसमा प्राधिकरणले जारी गरेको अन्तरआबद्धता निर्देशिकामा एक सेवा प्रदायकको नेटवकबार्ट अर्को सेवा प्रदायकको नेटवर्कमा फोन गर्दा लाग्ने शुल्क ५४ पैसाबाट झारेर १० पैसा कायम गर्नुपर्ने प्रावधान छ ।
प्राधिकरणले चैत २० देखि सेवा प्रदायकले उक्त व्यवस्था कार्यान्वयन गर्नुपर्ने निर्देशन दिएको थियो । तर लकडाउनको कारण देखाउँदै सेवा प्रदायकहरूले उक्त प्रावधान कार्यान्वयन नगर्दा उपभोक्ताले प्रतिमिनेट ५४ पैसा नै शुल्क तिर्नुपरिरहेको छ । निर्देशिका कार्यान्वयनमा आए उपभोक्ताले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क कम्तीमा पनि ४४ पैसा घट्नेछ । निर्देशिका जारी गर्न प्राधिकरणले सेवा प्रदायकलाई पत्र पठाए पनि कार्यान्वयन नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । निर्देशिका कार्यान्वयन गर्न प्राधिकरणले केही दिनअघि सेवा प्रदायकसँग छलफल गरेको प्राधिकरणका नियमन महाशाखाका निर्देशक अम्बर स्थापितले जानकारी दिए । सेवा प्रदायकहरूले लकडाउनका कारण निर्देशिका कार्यान्वयन गर्न नसकिएको कारण प्रस्तुत गरेको उनको भनाइ छ ।
जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कल गर्दा पनि बढी शुल्क नलगोस् भन्न प्राधिकरणले यस्तो निर्देशिका जारी गरेको थियो । नेपाल टेलिकमको नेटवर्कबाट अन्य नेटवर्कमा प्रिपेड सिमबाट कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा लाग्छ भने पोस्टपेडबाट कल गर्दा १ रुपैयाँ लााग्छ । यो निर्देशिका कार्यान्वयन भए टेलिकमको पोस्टपेडबाट अन्य नेटवर्कमा कल गर्दा १ रुपैयाँ ६ पैसा मात्र लाग्छ । पोस्टपेड सिमबाट कल गर्दा लाग्ने शुल्क पनि घट्नेछ । एनसेलको सिमबाट अन्य नेटवर्कमा कल गर्दा हाल प्रतिमिनेट २ रुपैयाँ ५४ पैसा लाग्छ । निर्देशिका कार्यान्वयन भए यो शुल्क घटेर २ रुपैयाँ १० पैसा मात्रै लाग्छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।