१७ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल
असारमा धितोपत्र दोस्रो बजारमा रू. ११ अर्ब ११ करोड बराबरको शेयर कारोबार हुँदा ३३ जलविद्युत् कम्पनीको हिस्सा २ दशमलव ५० प्रतिशत मात्र रहेको छ । असारमा जलविद्युत् कम्पनीहरूको रू. २७ करोड ८० लाख ३८ हजारको मात्र कारोबार भएको छ । लकडाउनबाट प्रभावित बनेको धितोपत्र दोस्रो बजार असार १५ गतेदेखि निरन्तर सञ्चालनमा आएको हो । असारमा १३ दिन मात्र शेयर कारोबार भएको छ ।
कुनै समय लगानीकर्ताको सबैभन्दा आकर्षण रहेको जलविद्युत् कम्पनीको शेयरप्रति पछिल्लो समय लगानीकर्ताको रुचि घटेको देखिन्छ । असारको अवस्था हेर्ने हो भने ३३ मध्ये १७ कम्पनीको शेयरमूल्य रू. १०० भन्दा तल छ । कम्पनीहरूको शेयरमूल्य बजारको माग र आपूर्तिले नै निर्धारण गर्ने हुँदा अंकित मूल्यभन्दा तल मूल्य कायम हुनुमा सम्बन्धित कम्पनीको शेयरमा खरीदभन्दा पनि विक्री चाप बढी भएको देखिन्छ । असारसम्मको विवरण हेर्दा ३३ जलविद्युत् कम्पनीमध्ये सबैभन्दा उच्च मूल्य चिलिमे हाइड्रोको छ भने न्यून मूल्य दिव्येश्वरी हाइड्रोको छ । चिलिमेको रू. ३९८ र दिव्येश्वरीको रू. ४८ दशमलव ५० रहेको छ ।
धितोपत्र बजारमा ३ दशक अघिदेखिका लगानीकर्ता एवम् साधारणसभाका नियमित वक्ता डम्वरुवल्लव घिमिरेले जलविद्युत् कम्पनीहरूको लाइसेन्स अवधिपछिको स्वामित्व सरकारमा हस्तान्तरण हुने कुराको अन्योलले पनि पछिल्लो समय यो क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण कम भएको बताए । जलविद्युत् कम्पनीहरूले आयोजना निर्माणाधीन अवस्थामा शेयर जारी गर्ने र तोकिएको अवधिमा निर्माण सम्पन्न गर्न नसक्दा लागत बढी भई लगानीकर्तालाई समयमै प्रतिफल दिन नसक्ने समस्या रहेको उनको भनाइ छ ।

लगानीकर्ताहरू कम्पनीको प्रतिफलबाटै प्रभावित हुने हुँदा राम्रो प्रतिफल दिने कम्पनीहरूको शेयरमा भने आकर्षण कायमै रहेको घिमिरेको प्रतिक्रिया छ । धितोपत्र बजारमा सूचीकृत जलविद्युत् कम्पनीहरूको परियोजना सञ्चालन अवधि समाप्त भएपछि सम्बन्धित कम्पनी तथा शेयरधनीको सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्ने योजना यस वर्ष नेपाल धितोपत्र बोर्डले बनाएको छ । बोर्डले हाल जलविद्युत् क्षेत्रका कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण घट्नुको मुख्य कारण रहेको उक्त समस्या समाधानको बाटो पहिल्याउन लागेको हो ।
बोर्डले जलविद्युत् कम्पनीहरूको शेयर स्वामित्व परियोजना सञ्चालन अवधि समाप्त भएपछि के हुने भन्ने विषयमा स्पष्ट व्यवस्था गरे यस क्षेत्रका कम्पनीको शेयरप्रति लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ । असार मसान्तसम्ममा ३३ जलविद्युत् कम्पनीहरूको कुल बजार पूँजीकरण रकम रू. ९७ अर्ब २५ करोड ९० लाख छ । त्यस अवधिसम्म कुल बजार पूँजीकरण रकम रू. १७ खर्ब ९२ अर्ब ७६ करोड २० लाख थियो । कुल बजार पूँजीकरणको ५ दशमलव ४२ प्रतिशत हिस्सा जलविद्युत् कम्पनीको शेयरले ओगटेको छ ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।