Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित

२०७७ श्रावण ९ गते

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित भएको छ। सरकारले लकडाउन खुला गरे पनि सभा सम्मेलन, पार्टी र भोज गर्न बन्देज गरेको भन्दै महासंघको साउन २६ र २७ गते तय भएको निर्वाचन अनिश्चित भएको हो।

महासंघको पूर्वअध्यक्षसहितको पदाधिकारी बैठकले वर्तमान परिस्थितिमा तोकिएको समयमा निर्वाचन गर्न नसक्ने निर्णय गरेको हो। महासंघका उपाध्यक्ष किशोर प्रधानका अनुसार सरकारले पार्टी र भोज गर्न खुला गरेको १५ दिनभित्र महासंघको निर्वाचन तय हुनेछ।

तर नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सारिएकोमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आपत्ति जनाएका छन्। अन्नपूर्णसँग कुराकानी गर्दै ढकालले कोरोना भाइरस (कोभिड १९) को बाहना बनाए पनि चुनावी आँकलन गरेर निर्वाचन सारिएको बताए। ‘हामीसँग अझै समय थियो तर कार्यसमितिको निर्णय नगराइ हतार हतार चुनाव स्थगित गर्नु उचित थिएन’, ढकालले भने। महासंघले उक्त समयमा पार्टी, सभासम्मेलन र भोज गर्न अनुमति मागे पनि सरकारको कुनै प्रतिक्रिया नआउँदै चुनाव स्थगित गरेको हो।

उपाध्यक्ष ढकालले कम्तीमा पनि एक हप्तापछि निर्णय गर्न सकिने भए पनि महासंघ पदाधिकारी बैठकले चुनाव स्थगित गरेमा असहमति जनाएका छन्। १५ दिनलाई सात दिनमा झारेर पनि चुनाव गर्न सकिने अवस्था हुँदाहँुदै पनि चुनाव स्थगित गरिएकोमा ढकालले गुनासो गरेका छन्। ‘त्यसरी जाँदा पनि समय बाँकी हुन्थ्यो’,उनले भने, ‘अहिले नै चुनाव सार्नु हतास मनस्थिति नै हो।’

कोरोना भाइरस(कोभिड १९) का कारण महासंघको चुनाव पटकपटक सर्दै आएको छ। चैत्र २८ र २९ गते तय भएको महासंघको निर्वाचन कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमका कारण जेठ ७ र ८ मा गर्ने तय गरिएको थियो। सरकारले पछिल्लो समयमा लकडाउन खुला गरेको घोषणा गरे पनि सभासम्मेलन, तथा भोज, पार्टीमा बन्देज कायमै राखेले तोकिएको समयमा निर्वाचन गर्न कठिन भएको प्रधानले जानकारी दिए। महासंघको निर्वाचनमा हजार जनाभन्दा बढी उपस्थित हुने भएकाले सरकारले पार्टी तथा भोज गर्न अनुमति नदिएपछि चुनाव अनिश्चित बनेको हो।

महासंघको ५४औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा नयाँ नेतृत्व चयन गर्दै छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान छ। आगामी नेतृत्वका लागि अध्यक्ष हुने निश्चित भएका कारण वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन्।

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।

Ad