नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित ‘कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समिति’ले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरेको छ। उक्त भेटघाटका क्रममा समितिको टोलिले गभर्नर महाप्रसाद अधिकारीलाई साना तथा मझौला व्यवसायीलाई सहज रुपमा चल्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ।
उद्योगधन्दा चल्ने वातावरण नभएकोले व्यवसाय सन्चालन गर्न कठिन भएको गुनासो व्यवसायीले आफ्नो समितिसमक्ष गरेको भन्दै उक्त समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्यतातिर ध्यान दिन राष्ट्र बैंकलाई आग्रह गरेको छ। अहिले असाधारण परिस्थिति भएको र रोजगारी गुम्दै गएकोले उक्त समस्यालाई समाधान गर्ने प्रमुख कर्तव्य राष्ट्र बैंकको भएको र यसबारे केही व्यवस्था गरेर मौद्रिक नीति सार्वजनिक गर्न समितिको आग्रह थियो।
रोजगारी गुम्न नदिन उद्योग व्यवसायीलाई बचाउनु पर्ने र उनीहरुलाई बचाउन ब्याज तथा सहुलियत ऋणको व्यवस्था गर्न राष्ट्र बैंकले भुमिका खेल्नुपर्नेमा टोलीले जोड दिएको थियो। टोलीमा समितिका संयोजक डा. प्रकाश शरण महतको नेतृत्वमा समितिका सदस्यहरु एनपी साउद, डा. चन्द्र भन्डारी, राजिब बिक्रम शाह, डा. प्रभु बुढाथोकी, डा.पोसराज पान्डे, नैनसिंह महर सहभागी थिए।
अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।