असार मसान्तमा बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने कर्जाको साँवा तथा ब्याज भुक्तानी अवधि बढाउन उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को माग छ ।
लकडाउन पूर्णरूपमा नखुलेको अवस्थामा उद्योगी व्यवसायी असारभित्रै बैंकको किस्ता तथा ब्याज बुझाउन सक्ने अवस्थामा नरहेको भन्दै महासंघले म्याद थपको आग्रह गरेको हो ।‘०७६ चैतदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकूल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पुँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल राष्ट्र बैंकसमक्ष गम्भीर आग्रह गर्दछ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि उद्योगी व्यवसायीले चैतदेखिको साँवा तथा ब्याज असार मसान्तभित्र चुक्ता गरे हुने सुविधा पाएका थिए । असार मसान्त नजिकिँदै गर्दा अहिले किस्ता तिर्न बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई ताकेता गर्न थालेको महासंघले जनाएको छ । ‘उद्यमी व्यवसायीलाई असारभित्र कर्जा तथा ब्याज चुक्ता गर्न बैंक तथा वित्तीय संस्थाको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाका कारण नेपाल ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहयो । उक्त समयमा मुलकभित्र अत्यावश्यकबाहेक सम्पूर्ण उद्योग व्यवसाय ठप्प रहे । ‘असार १ देखि लकडाउन केही खुकुलो भए पनि सार्वजनिक यातायात सञ्चालन नभएकोलगायत कारणबाट उद्योग व्यवसाय पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘चलेका उद्योग पनि क्षमताको ३०/४० प्रतिशत मात्रमा सञ्चालनमा रहेका, उत्पादित मालवस्तु निर्बाध बजारसम्म पुर्याई बिक्रीवितरण गरी नगद प्रवाह हुन नसकेको यथार्थ अवस्था छ ।’
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरिरहेका सानाठूला उद्योगी व्यवसायी गम्भीर संकटमा रहेको महासंघले जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति असार मसान्तसम्म ल्याउन पनि महासंघले राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचार