यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६६ कम्पनीको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार यस साता १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँभन्दा बढीका ४० लाख ९६ हजार ६ सय २ कित्ता सेयर खरिद बिक्री भएका छन् । कोरोना भाइरसको प्रभावका कारण तीन महिनासम्म बन्द गरिएको सेयर बजार लामो समयपछि खुल्दा निकै उतारचढाव देखिएको छ ।
लकडाउनका कारण तीन महिनासम्म बन्द भएको सेयर बजार खुलेपछि दुई दिन अत्यधिक वृद्धि र दुई दिन बजार घटेको थियो । नेप्से परिसूचक मंगलबार ७२ दशमलव ०५ अंकले र बुधबार ७५ दशमलव ७७ अंकले निरन्तर बढेको थियो । सोमबारदेखि कारोबार सुरु भएको सेयर बजारमा पहिलो दिन १२ अंकले र साताको अन्तिम दिन ८० लशमलव ४१ अंकले घटेकोे छ ।
यस साता समूहगत परिसूचकलाई हेर्ने हो भने सबैभन्दा बढी जीवन बिमा समूह पहिलो दिनको तुलनामा ५७४ दशमलव ८९ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बिमा ४४० दशमलव २५ अंकले, लघुवित्त १०७ दशमलव ६८ अंकले, व्यापार ९९ दशमलव २ अंकले, उत्पादन तथा प्रसोधन ९६ दशमलव २३ अंकले, बैंकिङ समूह ६८ दशमलव ८८ अंकले, विकास बैंक ४६ दशमलव ३६ अंकले, जलविद्युत् ३८ दशमलव ४८ अंकले, अन्य समूह १३ दशमलव ५२ अंकले र म्युचुअल फन्ड शून्य दशमलव ०१ ऋंकले बढेको छ भने होटेल समूह मात्रै १८१ दशमलव ३६ अंकले घटेको छ ।
त्यस्तै, यस साता सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सेयर लगानीकर्ता रहेका छन् । जसको १९ करोड ८६ लाख ८२ हजार ६३६ रुपैयाँबराबरका १ लाख ७१ हजार ५९२ कित्ता सेयर कारोबार भएका छन् । हिमालयन डिस्टिलेरी कम्पनीको १५ करोड २० लाख ५३ हजार ३७२ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्योरेन्स कम्पनी, सिभम् सिमेन्ट, एनआईसी एसिया बैंक, एनएमबी बैंक, नबिल बैंकलगायतका कम्पनीले सर्वाधिक कारोबार गरेका छन् ।
यस साता तीनवटा कम्पनीको बोनस सेयर तीनवटा कम्पनीको ऋणपत्र एक कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा आईसीएफसी फाइनान्सको २ लाख कित्ता, गुडविल फाइनान्सको २ लाख ५० हजार कित्ता र कुमारी बैंकको ३ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएका छन् । त्यस्तै, सिन्धु विकास बंैकको ५ लाख ७४ हजार २८७ दशमलव ५ कित्ता, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८० हजार १०७ दशमलव २० कित्ता र सिर्जना फाइनान्सको ११ लाख ५ हजार ८७६ दशमलव ८० कित्ता बोनस सेयर सूचीकृत भएका छन् भने देव विकास बैंकको समेत ५० लाख ४० हजार ६८१ दशमलव ६० कित्ता सेयर सूचीकृत भएको छ । यस साता नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला भएको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२ दशमलव ७४ अंकले बढेर २६९ दशमलव ०३ अंकमा आइपुगेको छ । राजधानी दैनिकमा प्रकाशित समाचार