नेपालको शेयर बजार लकडाउनले अझै दयनीय अवस्थामा रहेको सरोकारवालाले टिप्पणी गर्दै पूँजीबजार सुधारका लागि मौद्रिक नीतिमा वित्तीय औजार बढाउनु पर्ने सुझाव दिएका छन् । उनीहरुले शेयर बजारमा अनलाईन कारोबार गर्दा कनेक्ट–आईपीएसबाट गरिने भुक्तानीको सिमा हटाउन पनि सुझाव दिएका छन् । कनेक्ट आईपीएसबाट दैनिक रु.१० लाखसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था छ । आर्थिक पत्रकार समाज (सेजन) ले आइतवार आयोजना गरेको आगामी मौद्रिक नीतिमा पूँजीबजारका लागि समावेश हुनुपर्ने बिषयमा आयोजना गरेको वेबिनारमा सहभागी लगानीकर्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
लगानीकर्ताले इक्विटी मार्केटमा मात्रै केन्द्रित रहेको र बोण्ड मार्केट, रियल सेक्टरका कम्पनीहरु भित्र्याउन पहल हुन नसकेको आरोपसमेत लगाए । निक्षेपभन्दा बोण्डमा बढी कर तिर्नुपर्ने अवस्था, डिजिटल पेमेन्ट गेटवेको अभाव, संस्थापक कारोबारको सहज कारोबार हुन नसक्नु लगायतले बजार विस्तार हुन नसकेको उनीहरुको भनाइ छ ।
यस्तै, मार्जिन कर्जाको सिमालाई ८० प्रतिशत राख्नुपर्ने पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले बताइन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले शेयर कर्जामा लिदै आएको चर्को ब्याजलाई पनि घटाउनुपर्नै माग गरिन् । ‘लगानीकर्ताको मागलाई नेपाल धितोपत्र बोर्डले अनिवार्य रुपमा पुरा गर्नुपर्छ’, उनले भनिन् । उनले तीन महीना बजार बन्द हुँदा सबैभन्दा बढी लगानीकर्ता पिडित भएको गुनासो गरिन् । नियामक निकायको कमजोरीका कारण बजार खुल्न नसकेको आरोप पनि उनको थियो । ‘शेयर बजारको लागि नीतिगत सुधार आएको छ, तर कार्यन्वयन हुन सकेको छैन’, उनले भनिन् । पूर्ण अनलाईन भएको खण्डमा बजार बन्द गर्न नपर्ने भएपनि यसमा नियामक निकायले ध्यान दिन नसकेको उनले बताइन् । नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले शेयर बजारमा अहिले सुर्य ग्रहण लागिरहेको बताए ।
बजारमा लागेको ग्रहण हटाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको बताउँदै उनले लामो समयदेखि बन्द रहेको बजार खुला गर्नका लािग केन्द्रीय बैंकले पहलकदमी लिनुपर्ने सुझाव दिए । बजारका प्रत्यक्ष नियमनकारी निकायहरु राष्ट्र बैंकमा नै निर्भर भएकोले बजार संचालन हुन नसकेको उनको भनाइ थियो । उनले बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाउनुपर्ने, मार्जिन कलमा सहुलियत दिनुपर्ने लगायतका विषयलाई मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव दिए ।
यस्तै शेयर धितोमा गएको कर्जाको ब्याजमा तिर्ने समय थप गर्नुपर्ने र धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबार प्रवाह गर्ने ऋणको व्याजदर बैंकले प्रवाह गर्ने कर्जाको भन्दा कम हुने व्यवस्था गर्न सुझाव दिए ।
त्यस्तै उनले विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमालाई हटाउनसमेत सुझाव दिएका छन् । उनले अहिले मार्जिन ल्याण्डिङको सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए ।
साथै उनले बोण्ड मार्केटलाई सहज रुपमा कारोबार गर्ने व्यवस्था मिलाउनुपर्ने, गैर आवासीय नेपालीहरुलाई पनि दोस्रो बजारमा कारोबार गर्न लागि उपयुक्त वातावरण बनाउनुपर्ने सुझाव दिए । त्यस्तै शेयर बजारका विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारीले नेपालको शेयर बजार सबैभन्दा बढी समय बन्द भएको भनी गिनिज बुकमा नाम लेखाउने अवस्थामा पुगेको बताए । लामो समयसम्म शेयर बजार बन्द भएकोप्रति नियामकहरुको आलोचना गर्दै उनले शेयर बजारले पूँजी निमार्ण र तरलता सृजना गर्नुपर्ने भएपनि नेपालमा अझै त्यस्तो हुन नसकेको धारणा राखे ।
नेपालको पूँजीबजारबाट लिक्विडिटी भन्ने चिज नै हराउने अवस्थामा पुगेको उनको भनाइ थियो । नेपालको शेयर बजार सरकार, धितोपत्र बोर्ड, नेप्से लगायतका नियमनकारी निकायहरुबाट नभई पूँजीबजार खोल्ने वा बन्द गर्ने निर्णय केहि सीमित लगानीकर्ताहरुको हातमा पुग्नु बजारको सबैभन्दा कमजोर र दुखद पक्ष भएको उनले बताए ।
अहिलेको एनएफआरएस प्रणालीले सरकारले कर पाउने, कर्मचारीले बोनस पाउने लगानीकर्ताहरुले लाभांश नपाउने अवस्था आउनसक्ने उनले बताए ।
त्यस्तै लगानीकर्ता तिवारीले गैर आवासीय नेपालीहरुलाई यतिकै अवस्थामा आउ लगानी गर भन्दैमा आउन सक्ने अवस्था नरहेको पनि उनले बताए । यहि बस्ने लगानीकर्ताहरुले सहज रुपमा लगानी गर्ने र कारोबार गर्ने अवस्था नभइरहेको अवस्थामा बाह्य लगानीकर्तालाई भित्रयाउँछु भन्ने कुरा कोरा कल्पना मात्र भएको उनले बताए । धितोपत्र बोर्डको पूर्व अध्यक्ष सुरविर पौडेलले धितोपत्र बजारलाई राष्ट्र बैंक, तथा सरकारले कम प्राथमिकतामा राखेको बताए । ‘अब वास्तविक क्षेत्रका कम्पनीलाई अगाडि ल्याउन ढिला गर्नु हुँदैन’, उनले भने ।
सूचीकृत हुन आउनेलाई कर्जामा सहुलियत दिने नीति आवश्यक रहेको र यो भएको खण्डमा बजारको विकासमा सघाउ पुग्ने बताउँदै उनले राष्ट्र बैंक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको प्रभाव बजारमा पर्ने विचार व्यक्त गरे ।
वेबिनारमा बोल्दै डा गोपाल प्रसाद भट्टले पूँजीबजारले सबै कामको लागि मौद्रिक नीतिको मुख ताक्नु दुखद भएको बताए । पूँजीबजारको नियामक निकाय भनेको धितोपत्र बोर्ड हो भन्दै उनले बोर्ड आफैले बजारको विकासका लागि आवश्यक उपकरण, लगानीकर्ताको सुरक्षा, आवश्यक तरलता व्यवस्थापन लगायतका बिषयमा व्यवस्थापन गर्नु आवश्यक रहेको बताए । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार