सरकारले लकडाउन खुकुलो बनाएर उद्योग व्यवसाय चलाउन आग्रह गरे पनि अत्यावश्यक क्षेत्रमा पर्ने पुँजीबजार सञ्चालनको टुंगो अझै लागेको छैन । नियामक निकाय नेपाल धितोपत्र बोर्डले तदारुकता नदेखाउँदा बजार सञ्चालन अन्योलमा परेको जानकारहरु बताउँछन् । यसअघि बोर्डले लकडाउन अवधिभर सेयर कारोबार सञ्चालन नगनै नेप्सेलाई निर्देशन दिएको थियो । उक्त निर्देशनको म्याद सोमबार सकिँदै छ ।
मंगलबार (असार १) देखि सेयर बजार खोल्ने वा नखोल्ने विषयमा भने धितोपत्र बोर्डले आइतबार लगानीकर्तासँग छलफल गरेको छ । लगानीकर्ताले यथास्थितिमा बजार नखोल्न सुझाएका छन् । लकडाउने लगानीकर्ताको मनोबल खस्किएकाले प्रोत्साहन गर्न कारोबार शुल्क घटाउने, मार्जिन कलको सीमा बढाउने, अनलाइन कारोबार प्रभावकारी बनाउने उनीहरुको माग छ ।
चैत ११ देखि बन्द भएको बजार ५१ दिनपछि गत वैशाख ३० र ३१ मा दुई दिन सञ्चालन गरिएको थियो । सरकारले उत्पादनमूलक उद्योग व्यवसायलाई सञ्चालन गर्न दिने भएपछि कारोबार अवधि घटाएर दैनिक २ घण्टा बजार खोलिएको थियो । दुवै दिन बजार घटेपछि कोरोनाको सन्त्रास देखाउँदै पुन: बन्द गरिएको थियो ।
आइतबार बोर्डले नेप्सेलाई पत्र लेखेर बजार केकसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे जानकारी मागेको छ । पत्रमा अनलाइन कारोबारको अवस्था के कस्तो छ, नियमित बजार चलाउन सकिन्छ कि आंशिक रूपमा चलाउनेलगायत विषयमा जानकारी मागिएको छ । बजार सञ्चालनका लागि आन्तरिक छलफल भइरहेको बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘बजार लामो समय बन्द गर्नु हुँदैन,’ उनले भने, ‘के–कसरी बजार खोल्ने भन्ने सन्दर्भमा सरोकारवालासँग छलफल गरिरहेका छौं ।’
सरोकारवालासँग छलफल भइरहेको बताइए पनि यथार्थमा बोर्ड यो साता बजार खोल्ने पक्षमा छैन । यही कारण विभिन्न बहाना बनाएर आनाकानी गरिरहेको जानकारहरुको भनाइ छ । अर्थमन्त्री युवराज खतिवडाबाट सकारात्मक संकेत नपाएकै कारण बोर्डले बजार सञ्चालनको निर्देशन दिन नसकेको उनीहरुको दाबी छ । ‘असार १ बाट सञ्चालन गर्न मिल्ने क्षेत्रमा पुँजीबजार उल्लेख छैन,’ स्रोतले भन्यो, ‘यस्तो बेला बजार खोलेर दैनिक उच्च अंकले घट्यो भने अर्थमन्त्रीको अर्को टाउको दुखाइ हुन्छ । यो कुरा बोर्डले बुझेको छ । यही कारण बोर्डले आनाकानी गरिरहेको हो ।’
लगानीकर्तासँगको छलफलमा पनि बजार सञ्चालनका लागि हतार नगर्न सुझाव आएपछि बोर्डलाई झन् बल पुगेको छ । ‘अर्थ मन्त्रालय वा माथिल्लो निकायबाट दबाब भएन भने आउँदो आइतबारदेखि मात्र बजार खोल्ने बोर्डको योजना छ,’ स्रोतले भन्यो, ‘यसबीचमा लगानीकर्तालाई आईपीएसमा कनेक्ट होऊ, अनलाइन प्रभावकारी बनाऊ भन्नेलगायत सुझाव दिएर समय कटाउने तयारीमा बोर्ड छ ।’
लगानीकर्ता पनि तत्काल बजार खोल्नुपर्छ भन्नेमा छैनन् । बजार खोल्नुअघि कारोबार शुल्क घटाउने, करको विषय टुंग्याउने, मार्जिन कलको सीमा बढाउनेलगायत माग उनीहरुको छ । तत्काल पूरा गर्न सम्भव छैन भन्ने जान्दाजान्दै पनि यस्ता माग राख्नुले उनीहरुको मनसाय पुष्टि हुने जानकारहरु बताउँछन् ।
पुँजीबजार आममानिसको जनजीवन/आर्थिक उपार्जनसँग जोडिन नसकेकाले करिब ३ महिना बन्द हुँदा पनि कसैलाई असर नपरेको हो । सीमित वर्ग तथा व्यक्तिहरुसँग मात्र जोडिएकाले बजार लामो समय बन्द रहँदा पनि केही फरक नपरेको एक लगानीकर्ताले बताए । ‘नियामक निकाय पनि त्यस्तै भए, लगानीकर्ता झन् कमजोर, अनि कसरी बनोस् बजार व्यवस्थित,’ ती अधिकारीले भने ।
आइतबार बोर्डबाट पत्र प्राप्त भएको नेप्सेले बताएको छ । सोमबार नै पत्रको जवाफ पठाउने तयारीमा नेप्से छ । गत चैतसम्म नेप्सेमा २ सय १२ कम्पनी सूचीकृत छन् । तीमध्ये १ सय ४८ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका छन् । ०७६ असारमा सूचीकृत कम्पनी संख्या २ सय १५ थियो ।
सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ८०.३ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा ५.८, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.७, होटलको हिस्सा १.५, व्यापारिक संस्थाको हिस्सा ०.३ तथा अन्य समूहका कम्पनीको हिस्सा ८.५ प्रतिशत छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।
