Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नोक्सान सवा १० करोड, राहत सवा करोड मात्र

२०७७ जेष्ठ २६ गते
किसानले लामो समयपछि थोरै मात्र राहत पाए

पूर्वी चितवन खैरहनी नगरपालिका–१० कठार खरखुट्टेका किसान कृष्णप्रसाद अर्यालले गत वर्ष आफ्नो १५ कट्ठा खेतमा गरिमाको हाइब्रिड धान रोपेका थिए । अघिल्ला वर्षहरूमा पनि भारतबाट ल्याइएको सोही धान रोपेर उनले राम्रै लाभ लिएका थिए । तर गत वर्ष गरिमा भनेर रोपेको धान पसाउँदै पसाएन ।

 

सरकारले धान रोप्न खर्च हुने प्रतिकट्ठा लागत मूल्य तीन हजार १ सय ५० रुपैयाँ कायम गरेर त्यसको २० प्रतिशत हाराहारीमा मात्रै राहत रकम उपलब्ध गराएको हो । सरकारी निकाय कृषि ज्ञान केन्द्र चितवनका अनुसार गरिमा धानको गुणअनुसार फल लागेको भए कट्ठामा पाँच हजार १ सय १६ रुपैयाँ बराबरको धान फल्ने निष्कर्ष निस्केको थियो । अर्थात् ७६ हजार ७ सय ४० रुपैयाँ नोक्सान हुँदा अर्यालले निकै कम राहत पाएका छन् ।

चितवनका सबै स्थानीय तहमा संघीय सरकारले उपलब्ध गराएको राहत रकम वितरण सुरु भएको उनले बताए । सबैभन्दा पहिला राप्ती नगरपालिकाले वैशाख २८ मा सूचना निकालेर राहत बाँड्न सुरु गरेको थियो । चितवनमा सबैभन्दा धेरै राप्ती नगरपालिकामा गरिमा धान लगाइएको थियो । राहतका लागि चितवनका स्थानीय तहलाई संघीय सरकारबाट एक करोड २३ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

केन्द्रकै विश्लेषणलाई आधार मान्दा पनि गरिमा नफल्दा उत्पादनका आधारमा चितवनका किसानले १० करोड १९ लाख ४८ हजार ८ सय ८५ रुपैयाँ बराबरको नोक्सानी व्यहोरेका थिए । सवा १० करोड रुपैयाँका हाराहारीमा नोक्सानी व्यहोरेका किसानले जम्मा सवा करोड रुपैयाँ हाराहारीमा मात्रै राहत बुझेका छन् । धान नफलेपछि बाली चक्र नै बिथोलिएका कारण किसानले अन्य खेतीबाट पनि फाइदा लिन पाएका थिएनन् ।

‘हामीले गरिमा चाँडै फल्छ, धान काटेपछि आलु र अन्य तरकारी खेती लगाउन पाइन्छ भनेर रोपेका हौं । तर गरिमा नफलेपछि कुर्दाकुर्दा आलु र तरकारी लगाउन अबेला भयो । यतातर्फ भएको नोक्सानी कल्ले गणना गर्ने,’ किसान कृष्णप्रसाद अर्यालले भने । बीउ उत्पादक र आयात कम्पनीविरुद्ध मुद्दा दायर गरी किसानलाई क्षतिपूर्ति दिने तयारीमा सरकार रहेको ढकालले बताए ।

भारतबाट नेपालमा गरिमा धानको बीउ आधिकारिक रूपमा आयात गर्ने कम्पनी दाङ लमहीमा रहेको सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि थियो । चितवन र आसपासको क्षेत्रमा प्रशान्त एग्रोभेटले गरिमा धानको बीउ बेचेको कृषि ज्ञान केन्द्रबाट जानकारी प्राप्त भएको छ । ०७० सालदेखि नै गरिमा आयात हुन थालेको देखिन्छ । चितवन क्षेत्रमा मात्रै गत वर्ष गरिमा धानको ११ हजार ७ सय ४ किलो बीउ खपत भएको थियो ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

Ad