Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पारिश्रमिक व्यवस्थापनमा त्रिपक्षीय अडान कायमै

२०७७ जेष्ठ २३ गते

बन्दाबन्दीका कारण मुलुकभर ठप्प भएका उद्योगप्रतिष्ठानमा कार्यरत लाखौं कर्मचारी तथा श्रमिकको पारिश्रमिक व्यवस्थापनको विषय अझै टुंगो लाग्न सकेको छैन । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक व्यवस्थापन, उद्योगप्रतिष्ठान सञ्चालनका विषयमा गठन गरेको कार्यदल पारिश्रमिक व्यवस्थापनका विषयमा अभैm टुंगोमा पुग्न सकेको छैन । कार्यदल वैशाख २८ गते गठन भएको थियो ।

कार्यदलको बैठक हिजो बिहीवारसहित चारपटक बसिसकेको छ । तर, पारिश्रमिक विषयमा भने कुनै निष्कर्ष निस्कन सकेको छैन । कार्यदलका पदाधिकारी, निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको रोजगारदाता परिषद्, मजदूरहरूका छाता संगठनको बिहीवार बसेको बैठकले समेत चैत र वैशाखको पारिश्रमिक कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय लिन सकेन । निजीक्षेत्रले बन्दाबन्दीको अवधिमा अधिकतम ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन नसक्ने अडान कायमै राख्दा अहिलेसम्म पारिश्रमिकको विषयमा सहमति जुट्न नसकेको हो ।

कार्यदलका संयोजक बाबुराम अधिकारीले चैतको पारिश्रमिकमा सहमति भए पनि रोजगारदाताका संगठनहरूले वैशाखको पारिश्रमिक ५० प्रतिशतभन्दा बढी नदिने अडान कायमै राखेको जानकारी दिए । ‘सरकारले वैशाखको पारिश्रमिक दिनुपर्ने निर्णय गरिसकेको हुँदा कार्यान्वयन गर्नैपर्छ भनेका छौं,’ अधिकारीले भने, ‘तर, उहाँहरूले अधिकतम ५० प्रतिशतभन्दा बढी दिन सक्दैनौं र उद्योग सञ्चालनपछि पनि बाँकी पारिश्रमिक भुक्तानी गर्दैनौं भन्दै आउनुभएको छ ।’ सरकारले वैशाखको पारिश्रमिक दिँदा ५० प्रतिशत अहिले र बाँकी उद्योग प्रतिष्ठानहरू सञ्चालनमा अएपछि दिनुपर्ने निर्णय गरिसकेको छ ।

चैतको पारिश्रमिक दिन उद्योगप्रतिष्ठान तयार भएको बताइरहँदा सोही महीनाको पारिश्रमिक धेरै श्रमिकले पाएका छैनन् । चैत र वैशाखकै पारिश्रमिकमा सहमति जुटेको छैन भने जेठ महीनाको पारिश्रमिक कसरी दिने भन्ने विषयमा त छलफल पनि भएको छैन । यद्यपि अधिकारीले आगामी सोमवार पुनः कार्यदलको बैठक डाकिएको र त्यसमा आउँदो जेठको पारिश्रमिक दिने विषयमा गृहकार्य गरेर आउन रोजगारदातालाई भनिएको बताए ।

नेपाल  ट्रेड युनियन महासंघ (जिफन्ट)ले तयार गरेको प्रतिवेदनअनुसार चैत महीनाको पारिश्रमिक नदिने उद्योगप्रतिष्ठान ४२ दशमलव १० प्रतिशत रहेका छन् भने आंशिक र पेश्की स्वरूप दिने क्रमशः ७ दशमलव ४३ र १८ दशमलव ८८ प्रतिशत रहेका छन् । अधिकारीले चैत र वैशाखको पारिश्रमिक चुक्ता गरेर जेठ महीनाको पारिश्रमिकका लागि गृहकार्य गरी सरकारलाई रचनात्मक सुझाव दिन सकिने बताए ।

छलफलमा सहभागी भएका रोजगारदाता परिषद्का सभापति चन्द्र ढकालले चैतको पारिश्रमिक पूरै दिए पनि वैशाखको पारिश्रमिक आधा मात्रै दिने अडान कायमै राखेका छन् । उनले सरकारले वैशाखको पारिश्रमिक दिनुपर्ने भनी गरेको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरे ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकारले गरेको निर्णयअनुसार श्रमिकहरूले पारिश्रमिक पाउनुपर्नेमा अभैm पनि किचलो जारी रहँदा श्रमिक तथा कर्मचारीहरू दोहोरो मर्कामा परेको बताए ।

उनले सरकारले निर्णय गरेर पनि कार्यान्वयन गराउन नसक्नु दुःखद भएको बताए । उनले भने, ‘चैत ११ गतेसम्म कर्मचारी तथा श्रमिकले काम गरिरहेका थिए, वैशाख २१ गतेयता पनि केही उद्योगव्यवासयीले काम लगाइरहेका छन् ।

यही बीचको १ महीनाको पारिश्रमिक दिन उद्योगपतिहरूलाई निकै कष्ट भएको छ, वर्षाैंदेखि त्यही उद्योगमा काम गरेका श्रमिकलाई १ महीनाको पनि पारिश्रमिक व्यवस्थापन गर्न नसक्नु निकै दयनीय कुरा हो ।’ अहिले पनि ८० प्रतिशत रोजगारदाताले पेश्कीको रूपमा मात्रै पारिश्रमिक दिएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले संयुक्त रूपमा अहिलेको परिस्थितिमा उद्योगव्यवसाय क्षेत्रले श्रमिकको पारिश्रमिकको सम्बन्धमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न ठूलो समस्या देखिएको बताएका छन् ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad