बैंकिङ खबर । उद्योगी तथा व्यबसायीहरुले हाल संचालन गर्दै आएको तथा लकडाउनका कारण बन्द गर्नुपरेका ठुला व्यबसाय र उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने तयारी सुरु गरेका छन् । उनीहरुले लकडाउन लम्बिदै जाँदा समस्या बढ्दै गएको र कर्मचारीलाई ५० प्रतिशत पनि तलव दिन सक्ने अबस्था नरहेको भन्दै उद्योग व्यबसाय बन्द गर्ने तयारी गरेका हुन् । महंगो भाडा, कर्मचारीको खर्च धान्न नसक्ने अबस्था र तत्काल कोरोना समस्या समाधान नहुने संकेतका कारण खर्च धान्न सम्भव नभएको निश्कर्षमा व्यबसायीहरु पुगेका छन् । यसबारेमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ छलफलमा जुटेका छन् । अन्य व्यबसायीक संघसंस्था पनि सामुहिक निर्णय गरेर उद्योग व्यबसाय बन्द गर्ने तर्खरमा रहेका छन् ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीलाई आगामी बजेटका बारे विभिन्न सुझावहरु बुझाएको छ । महासंघले भ्याट घटाउनुपर्ने, व्यक्तिगत आयमा पाँचलाख सम्मको आयकर लिन नहुने तथा बैंकिङ कर्जामा कम्तिमा ३ बर्षसम्म पाँच प्रतिशत व्याजमा कर्जा उपलव्ध गराउनुपर्ने लगायतका सुझावहरु पेश गरेको छ ।