बैंकिङ खबर । फागुन महिनामा नेपालमा ७९ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा ५९२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । माघ मसान्तसम्ममा रु.५१३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो ।
अघिल्लो वर्षको फागुन मसान्तको तुलनामा विप्रेषण आप्रवाह १.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।
यो अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई रु.६७१ अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको थियो ।