बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चैत मसान्तभित्र ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले प्रकृया सुरु गरेको छ । ट्रेजरी विल्सबाट २५ अर्ब र विकास ऋणपत्रबाट ३० अर्ब गरी कुल ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २० अर्ब १ सय ८२ दिने र ५ अर्ब ३ सय ६४ दिने ऋण हो । सरकारले बजेटमा आन्तिरिक ऋण प्राप्तिको लक्ष राखे अनुसार राष्ट्र बैंक अघि बढेको हो । तेस्रो त्रैमासिक लक्ष्य अनुसार आन्तरिक ऋण उठाउन लागिएको हो । यो वर्ष सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । चालु आर्थिक बर्षमा राष्ट्र बैंकले ६० करोड रुपैयाँ बचतपत्र निष्कासन गरिसकेको छ । यसमध्ये जम्मा ४३ लाख रुपैयाँ बराबरको बचतपत्र मात्र बिक्री भएको उल्लेख छ ।