Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

चीनको अर्थतन्त्र सामान्य अवस्थामा फर्किँदै

२०७६ चैत्र १० गते

बैंकिङ खबर । अहिले विश्वव्यापी अर्थतन्त्रलाई डामाडोल बनाएको कोरोना भाइरसको संक्रमण चीनबाट सुरु भएको छ । एकातिर, भाइरसको संक्रमणका कारण अमेरिका र युरोप लगायत विश्वका १८५ देशहरुको अर्थतन्त्रलाई कमजोर बनाइरहँदा चीन भने यसको असरबाट माथि उठ्न थालिसकेको छ । लामो समयको लक डाउनपछि चीनको अर्थतन्त्र सुचारु हुन थालिसकेको छ ।

चीनमा केही समयदेखि नयाँ संक्रमण देखिएको छैन भने पहिले संक्रमण भएकाहरुको पनि लगभग उपचार पूरा भइसकेको छ । फेबु्रअरी १० देखि विस्तारै बजारहरु खुल्न थालेका थिए । हालसम्म चीनको ८० प्रतिशत आर्थिक गतिविधि सुचारु भइसकेको बताइन्छ ।

कोरोनाले अत्याधिक प्रभाव पारेको वुहान र आसपासका क्षेत्रहरुमा भने आर्थिक गतिविधिहरु संचालन गर्ने अनुमति दिइएको छैन । यसबाहेक, अन्य क्षेत्र सामान्य अवस्थामा नै फर्किन थालिसकेका छन् । अब नयाँ संक्रमण नदेखिएसम्म आर्थिक गतिविधि बन्द नगर्ने सरकारको योजना छ । यद्यपि, आवातजावतमा भने अझै पनि रोक लगाइएको छ ।

केही समयदेखि कोरोना भाइरसका कारण चीनको अर्थतन्त्र स्थिर बनेको थियो । मानिसहरु एकै ठाउँमा जम्मा हुने, घुम्ने, काम गर्ने अवस्था थिएन । अब भने रेस्टुरेन्टहरु खुल्न थालेका छन् । बजारहरुमा चहलपहल देखिन थालेको छ । उद्योगमा कामदार फर्किएका छन् । उत्पादन र व्यापार सुचारु भएको छ । अनलाइन डेलिभरी प्लाटफर्महरु पनि आफ्नो कार्यमा फर्किएका छन् ।

चीनको अर्थतन्त्र विश्वका अन्य मुलुकजस्तो परनिर्भर नभई आत्मनिर्भर भएका कारण पनि चीनको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन सहज हुने बताइन्छ । चीनमा उपभोग हुने ६० प्रतिशत उत्पादन चीनमा नै हुन्छ, जसकारण वैदेशिक व्यापार केही समयका लागि रोकिए पनि चीनमा हाहाकार मच्चिने अवस्था रहँदैन । यद्यपि, परनिर्भर अर्थतन्त्र भएका, दैनिक उपभोगका सामानका लागि पनि अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुपर्ने नेपाल जस्तो देशलाई पनि सीमाना बन्द गर्दा ठूलो असर भोग्नुपर्ने देखिन्छ ।