Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डिजिटल कारोबार बढेसँगै वित्तीय सुरक्षामा सचेत रहन आग्रह

२०८३ भाद्र १५ गते

काठमाडौं । डिजिटल प्रविधिको प्रयोगसँगै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी तथा डिजिटल वालेटजस्ता सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको छ । बैंकिङ तथा वित्तीय कारोबार सहज, छिटो र कम लागतमा गर्न सकिने भएपछि पछिल्लो समय यस्ता डिजिटल सेवाहरू दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएका छन् ।

मोबाइल एप्लिकेसन तथा इन्टरनेट ब्राउजरको माध्यमबाट जुनसुकै स्थान र समयमा बैंक खाताबाट कारोबार गर्न सकिने सुविधा विस्तार हुँदै गएसँगै डिजिटल वित्तीय सेवाका प्रयोगकर्ता पनि बढिरहेका छन् । इ–कमर्स, सरकारी भुक्तानी तथा अन्य वित्तीय कारोबारमा समेत डिजिटल माध्यमको प्रयोग बढ्दै गएको छ ।

तर डिजिटल कारोबारको विस्तारसँगै साइबर जोखिमसमेत बढेकाले प्रयोगकर्ताले डिजिटल वित्तीय अनुशासन पालना गर्नुपर्नेमा जोड दिइएको छ । विशेषगरी डिजिटल बैंकिङमा प्रयोग हुने युजरनेम, पासवर्ड, पिन तथा ओटीपीको सुरक्षा स्वयं खातावालाले विशेष रूपमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

बलियो पासवर्ड र पिन आवश्यक

डिजिटल बैंकिङ प्रयोगकर्ताले आफ्नो खाताको सुरक्षाका लागि बलियो पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ । अक्षर, अङ्क र विशेष चिह्नको संयोजन भएको पासवर्ड प्रयोग गर्नुपर्ने र सजिलै अनुमान गर्न सकिने आफ्नो नाम, परिवारका सदस्यको नाम वा अन्य व्यक्तिगत विवरणलाई पासवर्डका रूपमा प्रयोग गर्न नहुने सुझाव दिइएको छ ।

त्यस्तै मोबाइल नम्बर, जन्ममिति वा अन्य व्यक्तिले सहजै अनुमान गर्न सक्ने विवरणलाई पिनका रूपमा प्रयोग नगर्न पनि सचेत गराइएको छ । बैंकिङ तथा वित्तीय खातामा प्रयोग गरिने पासवर्ड इमेल, मेसेन्जर तथा सामाजिक सञ्जालजस्ता गैर–बैंकिङ खाताको पासवर्डभन्दा फरक राख्नुपर्नेमा पनि जोड दिइएको छ ।

डिजिटल खाताहरूको सुरक्षाका लागि मल्टी फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नु पनि महत्वपूर्ण मानिन्छ । पासवर्ड, पिन र ओटीपीजस्ता बहुस्तरीय सुरक्षा प्रणाली प्रयोग गर्दा अनधिकृत पहुँचको जोखिम कम गर्न सकिन्छ । बैंक खाता, मोबाइल बैंकिङ, वालेट, इमेल, कम्प्युटर, मोबाइल तथा सामाजिक सञ्जालका खातामा समेत उपलब्ध भएसम्म यस्तो सुरक्षा प्रणाली प्रयोग गर्न सुझाव दिइएको छ ।

आधिकारिक एप र वेबसाइट मात्रै प्रयोग गर्नुपर्ने

डिजिटल कारोबार गर्दा बैंक तथा वित्तीय संस्थाको आधिकारिक वेबसाइट र एप्लिकेसन मात्रै प्रयोग गर्नुपर्नेमा समेत सचेत गराइएको छ । अपरिचित वा शंकास्पद लिंकमार्फत खोलिएका वेबसाइटमा बैंकिङ विवरण, पासवर्ड, पिन वा ओटीपी राख्न नहुने बताइएको छ ।

त्यस्तै ब्राउजर वा अन्य असुरक्षित माध्यममा वित्तीय सूचना तथा पासवर्ड सेभ नगर्न, समय–समयमा पासवर्ड परिवर्तन गर्न र अनधिकृत एप्लिकेसन डाउनलोड तथा इन्स्टल नगर्न सुझाव दिइएको छ । कुनै एप्लिकेसनले अनावश्यक ‘एक्सेस पर्मिसन’ मागेमा त्यसलाई अनुमति दिनुअघि विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

अपरिचित व्यक्तिले फोन वा अन्य माध्यमबाट सम्पर्क गरी स्क्रिन सेयर गर्न आग्रह गरेमा त्यस्तो अनुरोध स्वीकार नगर्न पनि प्रयोगकर्तालाई सचेत गराइएको छ । विशेषगरी स्क्रिन सेयर गर्दै वित्तीय कारोबार गर्दा पासवर्ड, पिन, ओटीपी तथा अन्य संवेदनशील विवरण चोरी हुन सक्ने भएकाले यस्तो कार्यबाट बच्नुपर्ने हुन्छ ।

सार्वजनिक वाईफाईबाट वित्तीय कारोबार नगर्न सुझाव

डिजिटल बैंकिङ तथा वित्तीय कारोबार गर्दा सुरक्षित इन्टरनेट कनेक्सन प्रयोग गर्नुपर्नेमा समेत जोड दिइएको छ । सार्वजनिक वा असुरक्षित वाईफाई प्रयोग गरेर बैंकिङ कारोबार गर्दा संवेदनशील विवरण चोरी हुने जोखिम हुन सक्ने भएकाले सकेसम्म सुरक्षित नेटवर्कबाट मात्रै वित्तीय कारोबार गर्नुपर्ने हुन्छ ।

मोबाइल तथा कम्प्युटरमा बायोमेट्रिक अथेन्टिकेसनको सुविधा उपलब्ध भएमा त्यसको प्रयोग गर्न पनि सुझाव दिइएको छ । थम्ब, फेस वा अन्य बायोमेट्रिक सुरक्षाको प्रयोगले उपकरण तथा डिजिटल खाताको सुरक्षालाई थप मजबुत बनाउन सक्छ ।

विभिन्न माध्यमबाट पासवर्ड चोरी हुन सक्ने जोखिम

डिजिटल वित्तीय अपराधमा प्रयोगकर्ताको पासवर्ड विभिन्न माध्यमबाट चोरी हुन सक्ने जोखिम हुन्छ । सजिलै अनुमान गर्न सकिने पासवर्ड राख्दा ‘गेसिङ’मार्फत पासवर्ड पत्ता लगाउने प्रयास हुन सक्छ । त्यस्तै नक्कली वेबसाइट वा एप्लिकेसनमा प्रयोगकर्तालाई झुक्याएर पासवर्ड राख्न लगाउने र त्यसबाट विवरण प्राप्त गर्ने प्रविधि पनि प्रयोग हुने गरेको छ ।

त्यसैगरी सुरक्षित रूपमा इन्क्रिप्ट गरिएका पासवर्डलाई समेत विभिन्न प्रविधिबाट क्र्याक गरी वास्तविक पासवर्ड पत्ता लगाउने प्रयास हुन सक्छ । अन्य खातामा प्रयोग भएको पासवर्डलाई बैंकिङ वा वित्तीय खातामा पनि प्रयोग गर्दा एउटा खाताको पासवर्ड चोरी भए अन्य खातासमेत जोखिममा पर्न सक्छन् ।

एउटै पासवर्ड धेरै ठाउँमा प्रयोग गर्ने बानीले पनि डिजिटल सुरक्षामा जोखिम बढाउँछ । एउटा उपकरण वा खातामा प्रयोग गरिएको पासवर्ड अर्को उपकरण वा खातामा समेत प्रयोग गर्दा एउटा पासवर्ड चुहावट भएपछि अन्य डिजिटल खातामा समेत अनधिकृत पहुँचको सम्भावना बढ्ने भएकाले प्रत्येक महत्वपूर्ण खातामा फरक र बलियो पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

डिजिटल वित्तीय सेवाको विस्तारसँगै प्रयोगकर्ताको डिजिटल साक्षरता र सुरक्षा सचेतना पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । प्रविधिको सहजतालाई सुरक्षित रूपमा उपयोग गर्न प्रयोगकर्ताले आफ्नो पासवर्ड, पिन, ओटीपी तथा अन्य संवेदनशील वित्तीय विवरण कसैसँग पनि साझा नगरी डिजिटल वित्तीय अनुशासन पालना गर्नुपर्ने आवश्यकता देखिएको छ ।