बैंकिङ खबर । सीप भएका र आत्मनिर्भर बन्न चाहनेहरुलाई लक्षित गरेर सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै ६७४ जनाले लिएका छन् । गत वर्ष सरकारले कृषि तथा पशुपंछीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवमं रोजगारी अभिबृद्धि गर्न, शिक्षित वेरोजगारी युवालाई मुलुकभित्र रोजगारीको अवसर सिर्जना गर्न, महिला उद्यमशीलको विकास गर्न, आर्थिक रुपमा विपन्न समुदाय र विद्यार्थीलाई उच्च र प्राविधिक शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने लगायत शिर्षकका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यविधि ल्याएको थियो ।
उक्त कार्यविधिअन्तर्गत झन्डै ६० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा वितरण गरेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । यस्तो कर्जातर्फ महिलाको सहभागिता बढी रहेको पाइएको छ । हालसम्म प्रवाहित सहुलियत कर्जा लिने ६० प्रतिशत महिला छन्, जसले ४० करोड ६३ लाख रुपैयाँ कर्जा लिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत व्याजदरमा यस्तो कर्जा वितरण गरिरहेको छ ।
सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा तर्फ ५ करोड, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमशील कर्जा १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितहरूको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँसम्म कर्जा वितरण गर्ने घोषणा गरेको थियो । बैंकहरुले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याजदर तोक्न पाउने सरकारी कार्यविधिमा उल्लेख छ ।