Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

देशको आर्थिक तथा वित्तीय स्थिती : राष्ट्र बैंकको समीक्षा

२०७६ आश्विन ९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो एक महिनाको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । राष्ट्र बैंकको समीक्षा प्रतिवेदन अनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यात २७.७ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा दुई प्रतिशत र अमेरिकी डलरमा ०.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति छ अर्ब पाँच करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ । उक्त संचिति ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च दुई अर्ब ६२ करोड रुपैयाँ र राजस्व संकलन ७७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १६.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ०.४ प्रतिशतले घटेको र निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर १९.२ प्रतिशत रहेको छ । हेरौँ, राष्ट्र बैंकको समीक्षा प्रतिवेदन जस्ताको तस्तैः

मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
१. २०७६ साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ ।
२. समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।
३. काठमाडौं उपत्यकामा ८.६३ प्रतिशत, तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.४९ प्रतिशत, ४.१४ प्रतिशत, ५.२६ प्रतिशत र २.७४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
४. समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेकोमा भारतमा अगष्ट महिनामा यस्तो मुद्रास्फीति ३.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४.१९ प्रतिशत र भारतको ३.६९ प्रतिशत रहेको थियो

थोक मुद्रास्फीति
५. २०७६ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु, इन्धन तथा उर्जा र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति क्रमशः १३.१० प्रतिशत, ६.५९ प्रतिशत र ३.४५ प्रतिशत रहेको छ । समीक्षा महिनामा प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ ।
६. वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.८३ प्रतिशत, ५.११ प्रतिशत र २.२० प्रतिशत रहेको छ ।

तलव तथा ज्यालादर सूचकाङ्क
७. २०७६ साउनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १३.४४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १२.४१ प्रतिशत र ज्यालादर सूचकाङ्क १३.७२ प्रतिशतले बढेको छ ।

बाह्य क्षेत्र
वैदेशिक व्यापार
८. आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु निर्यात २७.७ प्रतिशतले वृद्धि भई रु.८ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यातमा ९.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
९. आर्थिक वर्ष २०७६।७७ को पहिलो महिनामा कुल वस्तु आयात ११.५ प्रतिशतले घटेर रु.१०६ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ । वस्तुगत आधारमा हटरोल सिट, कच्चा पाम तेल, तयारी पोशाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।
१०. भन्सार नाकाका आधारमा निर्याततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।
११. आर्थिक वर्ष २०७६।७७ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १३.९ प्रतिशतले संकुचन भई रु.९७ अर्ब ८९ करोड कायम भएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ५.७ प्रतिशत रहेको थियो ।

निर्यात आयात मूल्य सूचकाङ्क
१२. २०७६ साउन महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क १ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २ प्रतिशतले घटेको छ । २०७५ साउन महिनामा वार्षिक बिन्दुगत आधारमा २.६ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ साउन महिनामा ३.१ प्रतिशतले बढेको छ ।

सेवा
१३. समीक्षा अवधिमा खुद सेवा आय रु.३ अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब २३ करोडले घाटामा रहेको थियो ।
१४. सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ७.६ प्रतिशतले वृद्धि भई रु.४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.४ अर्ब ३८ करोड रहेको थियो ।
१५. सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ८.३ प्रतिशतले कमी आई रु.७ अर्ब २ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च रु.३ अर्ब ४९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.७ अर्ब ६५ करोड रहेको थियो ।

विप्रेषण आप्रवाह
१६. समीक्षा अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले वृद्धि भई रु.७५ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.० प्रतिशतले बढेको थियो ।
१७. समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.२ प्रतिशतले वृद्धि भई रु.८४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३५.३ प्रतिशतले बढेको थियो ।
१८. अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३०.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.१ प्रतिशतले बढेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति
१९. समीक्षा अवधिमा चालु खाता घाटा रु.९ अर्ब ३७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२५ अर्ब १६ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८ करोड ४० लाखले घाटामा रहेको छ ।
२०. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६ अर्ब ५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४ अर्ब ७७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा रहेको छ ।
२१. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.२९ करोड ५७ लाख रहेको थियो ।

विदेशी विनिमय सञ्चिति
२२. कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको रु.१०३८ अर्ब ९२ करोड बाट वृद्धि भई २०७६ साउन मसान्तमा रु.१०६४ अर्ब ६४ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ साउन मसान्तमा ९ अर्ब ३८ करोड रहेको छ ।
२३. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ साउन मसान्तमा रु.९२१ अर्ब ५३ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ साउन मसान्तमा रु.१४३ अर्ब ११ करोड रहेको छ । २०७६ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचकहरू
२४. आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०.७ प्रतिशत, ७३.५ प्रतिशत र २९.८ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
२५. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७५ साउन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६९.२१ रहेकोमा २०७६ साउन मसान्तमा १४.८ प्रतिशतले कमी आई प्रति ब्यारल अमेरिकी डलर ५९.० हुन आएको छ । त्यसैगरी, सुनको मूल्य २०७५ साउन मसान्तमा प्रति आउन्स अमेरिकी डलर ११८०.४० रहेकोमा २०७६ साउन मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १५१५.२५ कायम भएको छ ।

विनिमय दर
२६. २०७६ असार मसान्तको तुलनामा २०७६ साउन मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.० प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११३.५५ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३६ रहेको थियो ।

सरकारी वित्त स्थिति
वित्त घाटा/बचत
२७. आर्थिक वर्ष २०७६।७७ को पहिलो महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.७६ अर्ब ९७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.५७ अर्ब ५४ करोडले बचतमा रहेको थियो ।

सरकारी खर्च तथा राजस्व
२८. समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेक बाहेक) संघीय सरकारको कुल खर्च रु.२ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१० अर्ब ६४ करोड रहेको थियो ।
२९. समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) रु.७७ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व संकलन रु.६५ अर्ब ५८ करोड रहेको थियो ।

सरकारको नगद मौज्दात
३०. २०७६ साउन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा रु.१३७ अर्ब ५४ करोड (स्थानीय तहको खातामा रहेको रु.३८ अर्ब ५६ करोड समेत) नगद मौज्दात रहेको छ ।

मौद्रिक स्थिति
मुद्राप्रदाय
३१. आर्थिक वर्ष २०७६।७७ को पहिलो महिनामा विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.८ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा विस्तृत मुद्राप्रदाय १६.३ प्रतिशतले बढेको छ ।
३२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.६ अर्ब ५ करोड (०.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.२४ अर्ब ७७ करोड (२.३ प्रतिशत) ले घटेको थियो ।
३३. समीक्षा अवधिमा सञ्चित मुद्रा ६.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १६.२ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा सञ्चित मुद्रा १०.२ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जा
३४. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.८ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा यस्तो कर्जा २०.७ प्रतिशतले बढेको छ ।
३५. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ठ १.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १९ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन
३६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले नै घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ ।
३७. २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३२.९ प्रतिशत र ४८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.५ प्रतिशत र ४६.४ प्रतिशत रहेको थियो ।
३८. २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत रहेको छ । २०७५ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह
३९. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.२ प्रतिशतले बढेको छ ।
४०. २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.६ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो ।
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २.३ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५.१ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.९ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा ०.३ प्रतिशतले तथा मार्जिन प्रकृति कर्जा १.१ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन
४३. आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा खुला बजार कारोबारमार्फत्कुल रु.३० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.८० अर्ब ३५ करोड तरलता प्रशोचन भएको थियो ।
४४. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु.३ अर्ब ३० करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन् ।
४५. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १७ करोड ८६ लाख खुद खरिद गरी रु.२० अर्ब ११ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ८ करोड ७८ लाख खुद खरिद गरी रु.९ अर्ब ६९ करोड खुद तरलता प्रवाह गरिएको थियो ।
४६. समीक्षा अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी रु.४६ अर्ब ८१ करोड बराबरको भारतीय रुपैँया खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३२ करोड लगायत अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु.३९ अर्ब १३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

पुनरकर्जा
४७. उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह लगायत निर्यात विस्तार सहज बनाउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ साउन मसान्तमा रु.१९ अर्ब ८९ करोड लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु. १७ अर्ब ८७ करोड र निर्यात पुनरकर्जा रु.१६ करोड २३ लाख उपयोग भएको छ ।
४८. भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ साउन मसान्तमा रु.२ अर्ब रहेको छ । यस्तो कर्जा १५७८ जना ऋणीले उपयोग गरेका छन् ।

सहुलियतपूर्ण कर्जा
४९. २०७६ साउन मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १७,३२५ जना ऋणीको रु.३४ अर्ब २६ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, अन्य क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये १३२८ जना ऋणीको रु.८० करोड ३४ लाख कर्जा बक्यौता रहेको छ । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल रु.१ अर्ब ६३ करोड ब्याज अनुदान प्रदान गरेको छ ।

अन्तर–बैंक कारोबार
५०. आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा वाणिज्य बैंकहरुले रु.१४६ अर्ब २८ करोड र बैंक तथा वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) ले रु.१३ अर्ब ८४ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु.६८ अर्ब र रु.५ अर्ब ७७ करोड कारोबार गरेका थिए ।

ब्याजदर
५१. २०७५ साउनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ३.३४ प्रतिशत रहेकोमा २०७६ साउनमा ०.२१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ साउनको १.८८ प्रतिशतको तुलनामा २०७६ साउनमा १.१९ प्रतिशत कायम भएको छ ।
५२. वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ साउनको १०.१२ प्रतिशतको तुलनामा २०७६ साउनमा ९.४५ प्रतिशत कायम भएको छ । २०७६ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.४० प्रतिशत र १२.४७ प्रतिशत रहेका थिए ।

मर्जर तथा प्राप्ति
५३. वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ साउन मसान्तसम्म कुल १७१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भईसकेका छन् । यसमध्ये १२८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४३ संस्था कायम भएका छन् ।

वित्तीय पहुँच
५४. कुल ७५३ स्थानीय तहमध्ये २०७६ साउनसम्म ७३७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।
५५. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७६ साउन मसान्तमा १७१ रहेको छ । यस अनुसार २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ साउन मसान्तमा ८८०५ पुगेको छ ।

पुँजी बजार
५६. २०७५ साउन मसान्तमा १२१०.३ बिन्दुमा रहेको नेप्से सूचकाङ्क १.१ प्रतिशतले वृद्धि भई २०७६ साउन मसान्तमा १२२४.० बिन्दुमा कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९.० रहेको थियो ।
५७. धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा ७.७ प्रतिशतले वृद्धि भई २०७६ साउन मसान्तमा रु. १५५१ अर्ब ६० करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण रु. १५६७ अर्ब ५० करोड रहेको थियो ।
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ साउन मसान्तमा २१७ रहेको छ । यस्ता कम्पनीहरूमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ वटा जलविद्युत्कम्पनी, १९ वटा उत्पादन तथा प्रशोधन उद्योग, ४।४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समुहका कम्पनीहरु रहेका छन् । २०७५ साउनमा सुचीकृत कम्पनीहरुको संख्या १९६ रहेको थियो ।
५९. सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको धितोपत्र बजार पुँजीकरणमा ७७.९ प्रतिशत हिस्सा रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीहरुको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४.१ प्रतिशत, होटलको १.७ प्रतिशत र व्यापारिक संस्थाको ०.१ प्रतिशत तथा अन्य समुहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।
६०. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७६ साउन मसान्तसम्ममा सूचीकृत ४ अर्ब ३४ करोड कित्ता शेयरको चुक्ता मूल्य रु.४२५ अर्ब ५२ करोड रहेको छ ।
६१. आर्थिक वर्ष २०७६÷७७ को साउन महिनामा रु.२० अर्ब ६४ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ६७ करोड बराबरको बोनस शेयर तथा रु १५ करोड बराबरको डिबेन्चर गरी कुल रु.२३ अर्ब ४६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले रु १ अर्ब बराबरको डिबेन्चर निस्कासनको अनुमति प्रदान गरेको छ ।