
बैंकिङ खबर।आशा लघुवित्त वित्तीय संस्थाले २०७६ भाद्र १२ गते एकै साथ थप दश वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । थप गरिएका शाखा कार्यालयहरुमा मोरङ्ग जिल्लाको धनपालथान गाँउपालिका, धनुषा जिल्लाको औरहीर बट्टेश्वर गाँउपालिका, महोत्तरी जिल्लाको सोनमा गाउँपालिका, सर्लाही जिल्लाको चन्द्रनगर र रामनगर गाँउपालिका, रौतहट जिल्लाको गढीमाई नगरपालिका, नवलपरासि पश्चिम जिल्लाको सुस्ता गाँउपालिका, कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिका र दाङ्ग जिल्लाको बबई गाँउपालिका रहेका छन् । शाखा कार्यालयहरु थप भए संगै वित्तीय संस्थाको ७ वटै प्रदेशको२९ जिल्लामा ५५वटा शाखा कार्यालयहरु संचालनमा आएको छ ।
स्थानीय जनप्रतिनिधिहरुको सहभागीतामा शाखाहरुको उद्घाटन गरिएको थियो, जसमा धनपालथान गाँउपालिकामा वडा नं.४ का वडा अध्यक्ष रोशन राजबंशी, औरही गाँउपालिकामा गाँउपालिका प्रमुख ब्रम्हदेव प्रसाद यादव र वडा नं.२ का वडा अध्यक्ष अमित कुमार यादव, बट्टेश्वर गाँउपालिकामा गाँउपालिका प्रमुख डम्वर बहादुर राउत, वडा नं.३ का वडा अध्यक्ष हिरालाल महतो र वडा नं.४ का वडा अध्यक्ष दिप रमण दाहाल, सोनमा गाउँपालिकामा गाँउपालिका प्रमुख राज कुमार यादव र वडा नं.१ का वडा अध्यक्ष अशोक कुमार यादव रहनुभएको थियो भने चन्द्रनगर गाँउपालिकामा वडा नं.६, ७ र ८ का वडा अध्यक्षहरु क्रमश ःश्री रामचन्द्र कापत, श्री राम नारायण सिंह र राम कैलाश शाह, रामनगर गाँउपालिकामा गाँउपालिका प्रमुख श्री कृष्ण बर्मा, वडा नं.१ का वडा अध्यक्ष दिनेश मिश्र र वडा नं.३ का वडा अध्यक्ष हिरालाल शाह, गढीमाई नगरपालिकामा उपमेयर शुभद्रा गुप्ता र वडा नं. १ का वडा अध्यक्ष राम विनय यादव रहनुभएको थियो । यस्तै सुस्ता गाँउपालिकामा गाँउपालिका प्रमुख राम प्रसाद पाण्डे र वडा नं. २ का वडा अध्यक्ष कृष्णलाल मुखिया, विजयनगर गाँउपालिकामा गाँउपालिका प्रमुख गोपाल बहादुर थापा र वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार र बबई गाँउपालिकामा भने गाँउपालिका प्रमुख भुवनेश्वर पौडेल लगायतका स्थानिय प्रतिनिधिहरुले शाखा कार्यालयहरु उद्घाटन गर्नुभएको थियो । उद्घाटनका अवसरमा स्थानीय सुरक्षा निकाय, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायत सेवाग्राहीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्य लिई स्थापित राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले ग्रामिण भेगमा वित्तीय पहुँच अभिवृद्धिका क्रममा शाखा कार्यालयहरु स्थापना गरेको तथा वित्तीय संस्थाले आगामी दिनहरुमा अझ सहज र प्रभावकारी रुपमा दुरदराजका ग्रामिण क्षेत्रहरुमा शाखा विस्तार गरि विपन्न घरपरिवारलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि वढिरहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय संस्थाको रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी –६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।हालसम्म वित्तीय संस्थाले ४६ हजार भन्दा बढी सदस्यहरुलाई समुहमा आवद्ध गराई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ भने वित्तीय संस्थाको रु. १ अर्ब ९७ करोड भन्दा वढी कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट करिब ५१ करोड भन्दा वढी निक्षेप संकलन गरेको छ ।