July 15th, 2019

बैंकको शेयर कारोबार रोक्का नगर्न लगानीकर्ताहरुको माग

बैंकिङ खबर । मर्जरका लागि २२ वटा वाणिज्य बैंकहरुले प्रतिवद्धता राष्ट्र बैंकमा गरि सकेका छन् । प्रतिवद्धता पश्चात मर्जरको सहमति गरेका बैंकहरुको शेयर कारोबार रोकिएको हो । शेयर बजारमा कारोबार रोकिँदा अहिले लगानीकर्तालाई अन्यौल सिर्जना भएको छ ।

मर्जरको सम्पुर्ण प्रकृयाहरु पुरा भइसके पश्चात बैंकहरुको पुनः शेयर कारोबार सुचारु गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जनाकारी दिए । मर्जरको प्रकृयामा रहेका र प्राप्ती हुने बैंक तथा वित्तीय संस्थाहरुले मर्जर तथा प्राप्ती सम्बन्धी सम्पुर्ण प्रकृया पु¥याएर राष्ट्र बैंकबाट लिखित स्वीकृति लिएर नेप्सेमा पेश गरे पश्चात कारोबार पुन सुचारु हुने उनले बताए ।

कारोबार रोकिँदा समग्र पुँजी बजारमा नै नकारात्मक प्रभाव पर्ने बताउँदै लगानीकर्ताहरुले छिटो कारोबार खुलाउनका लागि राष्ट्र बैंकसँग माग गरेका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरका कारण अहिले शेयर बजारमा नकारात्मक प्रभाव देखिएको बताईन् । मर्जरमा जाने बैंकहरुको निश्चित समयको लागि नै भएपनि कारोबार रोक्का हुँदा नेप्से इनडेक्सलाई पुर्ण असर गर्ने उनको भनाई छ ।

यस्तै, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले एकै पटक धेरै बैंकहरु मर्जरमा गई कारोबार रोकिदिँदा लगानीकर्ता मारमा पर्ने बताए । उनी भन्छन्, “यसरी धेरै बैंक तथा वित्तीय संस्थाहरुको कारोबार रोक्दा शेयर बजारमा ब्रोकर तथा लगानीकर्ताहरुलाई मर्का पर्न जान्छ ।” जरुरत पर्यो भने पनि शेयर बेचबिखन गर्न नपाउने भन्ने अवस्था रहने भन्दै उनले राष्ट्र बैंकलाई मर्जरको नीतिमा शेयर कारोबार रोक्का नगर्न माग गरे । कारोबार रोक्नै परेमा पनि एक हप्ता भन्दा बढि नरोक्ने गरि काम गर्नुपर्ने उनको भनाई छ ।

अहिले शेयर बजारमा करिब ८० प्रतिशत बैंकिङ क्षेत्रकै प्रभाव रहेको छ । बैंकहरुको शेयर कारोबार निश्चित समयको लागि नै भएपनि रोकिँदा समग्र बजारलाई नै नकारात्मक असर गर्ने पूर्व बैंकर्स अनलराज भट्टराईले बताए । बैंक तथा वित्तीय संथाहरुको मर्जरका लागि कति समय लाग्छ भन्ने निश्चित नहुने हुदाँ लगानीकर्ताको हितलाई हेरेर राष्ट्र बैंकले सुशासन कायम गर्नुपर्ने उनको धारणा छ । सम्झौता हुने अवस्था आएपछि डिडिए गर्ने र एकैपटक मर्जरमा जाने हो भने कारोबार रोक्का गरिरहनु नपर्ने उनको सुझाव हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]