बैंकिङ खबर । जनता बैंकले एकैसाथ छ नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । बैंकले काठमाडौँ उपत्यकाभित्र तीन र बाहिर तीन शाखाबाट कारोबार सुरु गरेको हो । नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको बैंकले जनाएको छ ।
मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले मन्थली शाखाको, फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्गले फिदिम शाखाको, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले डुम्रे शाखाको, बैंकका संचालक रामबहादुर भण्डारीले पाटन सुनधारा शाखाको, बैंकका संचालक संजिब न्यौपानेले ठिमी शाखाको र नायब प्रमुख कार्यकारी अधिकृतसुजित कुमार शाक्यले किर्तिपुर शाखाको उद्घाटन गरे । नयाँ शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।
यससँगै जनता बैंकको शाखा संजाल कुल १३५ पुगेको छ । यस सगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पुर्याउँदै आइरहेको छ ।
तनहुँको डुमेमा शाखा उद्घाटनसँगै बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरेको थियो । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका र बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको बैंकको जानकारी दिएको छ ।